राजनीति

गुणस्तरहिन काम गर्नेलाई कारवाही गर्छुः मन्त्री राई

काठमाडौं– सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले सघन सहरी विकास कार्यक्रममा अनियमितता गर्ने र गुणस्तरहिन काम गर्नेलाई कारवाही गर्ने बताएका छन्। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा समिति सदस्यहरुले सघन सहरी विकास कार्यक्रममा अनियमितता भएको भन्दै प्रश्न उठाएपछि मन्त्री राईले त्यस्तो पाइएमा सरकारले कडा कारवाही गर्ने बताएका हुन्। 

उनले कार्यक्रमको तत्काल अनुगमन गरी दोषिलाई कारवाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिए। उनले भने ‘गुुणस्तर हिन निर्माण सामाग्री प्रयोग भएको पाईए ठेकेदार र कर्मचारीलाई कारवाही गर्छौ। एक इन्च पनि गुणस्तरहीन काम शहरी विकास मन्त्रालयले गर्दैन।’

उनले स्थानीयको अवरोध तथा स्थान अभावका कारण मुलुकका विभिन्न सहरमा निर्माण गर्ने भनिएको ल्याण्डफिल्ड साईट निर्माणको काम रोकिएको स्पष्ट पारे। अधिकतम सहमति अनुसार नै मन्त्रालयले कम गरिरहेको भन्दै उनले स्थान उपलब्ध गराएमा निर्माण कार्य तत्काल अघि बढाईने बताए।

समितिले नयाँ शहर निर्माण गर्दै जाने सरकारको नीति अनुसारको कार्यप्रगति अपेक्षाकृत हुन नसकिरहेको अवस्थामा कार्य हुन नसक्नुको अवस्था पहिचान गरि प्राथमिकताको आधारमा प्रभावकारीताका साथमा काम अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिले नयाँ सहर व्यवस्थापनमा भएका प्रगति तथा काठमाडौं उपत्यकाको फोहर संकलन र व्यवस्थापनका सम्बन्धमा सहरी विकासमन्त्रीको साथै सम्बन्धीत निकायका अधिकारीसँग छलफल गरेको हो।

प्रकाशित: ८ भाद्र २०७६ १०:२९ आइतबार

सहरी_विकासमन्त्री मोहम्मद_इश्तियाक_राई अनियमितता गुणस्तरहिन_काम