राजनीति

राजनीतिबाट नभाग्ने भन्दै माधव नेपालले भने- ओलीसँग श्रीमान् श्रीमतीको जस्तै घर झगडा हो

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले आफु र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन्। सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्य रुपमा लिन आग्रह गरेका हुन्।

विषयवस्तुमाथिको बुझाईमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भईरहने भन्दै उनले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिए। झगडा भयो भनेर वैबाहिक जीवन प्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिमा पनि भागेर नभई समस्यासँग जुध्दै र सामाना गर्दे अघि बढ्नुपर्ने आवश्यकता औल्याए।

उनले भने ‘नेताहरुबीच भनाभन भएछ भनेर पुर्ववक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो यो बाट अत्तिनु केही पनि पर्दैन। यो घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने? त्यही हो। विहे गर्नु नै वेकार रहेछ। छोराछोरी जन्माउनु नै वेकार रहेछ भन्नु? यो जीवनको यथार्थ हो। पछाडि हट्नु हुँदैन। आएका समस्यालाई कसरी समाधान गर्ने? समस्या त आउछन्। नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ। सामाजिक जीवनमा प्रवेश गर्ने हो भने अनेकौ समस्याहरु आउँछन्। बाधा अवरोध हरु आउँछन्। ती समस्याहरुको सामना गर्ने आँँट हुनुपर्छ। सामथ्र्य पनि हुनुपर्छ। यदि तपाईमा सामथ्र्य छैन भने तपाई केही पनि गर्न सक्नुहुन्न।’

नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राखे।

उनले ‘फुलको आँखामा फुलै संसार, काडाको आँखैमा काडा संसार’ भन्ने गीतको दृष्टान्त दिदै व्यक्तिको सोच, दृष्टिकोण, सामथ्र्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताए।

प्रकाशित: ६ भाद्र २०७६ १०:३० शुक्रबार

नेकपा माधवकुमार_नेपाल