राजनीति

सर्लाहीमा बस्यो प्रदेश २ को मन्त्रिपरिषद् बैठक

सर्लाहीमा बसेको मन्त्रिपरिषद् बैठकस्थलमा मुख्यमन्त्री राउतसहितका मन्त्रीहरु। तस्बिरः टंक/नागरिक

सर्लाही– प्रदेश २ सरकारको मन्त्रिपरिषद् बैठक शुक्रबार सर्लाहीमा बसेको छ। मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको पहिलो पटक राजधानी बाहिर बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायाता मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश राय, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग वन तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डलको उपस्थित रहेको थियो।

पूर्व–पश्चिम राजमार्गबाट ४ किलोमिटर दक्षिण सागरनाथ वन विकास परियोजनाको सभाहलमा मध्यान्ह १२ बजेदेखि १ घण्टा बसेको मन्त्रिपरिषद् बैठकले ४ वुँदे निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठक सकिएलगतै प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला मन्त्री यादवले पत्रकार सम्मेलन गर्दै निर्णयहरु जनकारी गराएका थिए। सागरनाथ वन विकास परियोजना सहित प्रदेश भित्रका राष्ट्रिय वनको संरक्षण र संवद्र्धन प्रदेश सरकारले गर्ने, चुरे क्षेत्रको संरक्षणका लागि गैरकानूनी बस्ती नियन्त्रण गर्ने तथा खोलाहरुबाट भईरहेको बालुवा गिटी अवैध उत्खनन् तत्काल रोक्ने, प्रदेश स्तरीय निकायका निजामति कर्मचारीलाई प्रोत्साहन स्वरुप आन्तरिक पर्यटन कार्यक्रम संचालन निर्देशिका २०७६ र कर तथा गैर राजश्व लगाउने र उठाउने सम्बन्धमा बनेको विधेयक छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।

मुख्यमन्त्री राउत नेतृत्वको मन्त्रीहरुको टोली महोत्तरीको लक्ष्मिनिया स्थित परियोजनाको जमिनमा टिक, मसला लगायत वृक्षारोपण गरेर  सागरनाथ आएको थियो। बैठक सकिएपछि परियोजना स्थलमै खाना खाएर मुख्यमन्त्री राउत सहित मन्त्रीहरु जनकपुरतर्फ लागेका छन्।

संघीय सरकारले सागरनाथ वन विकास परियोजनालाई वन निगम अन्तर्गत राख्दै आप्mनै मातहतमा राखेपछि विरोध स्वरुप प्रदेश २ मन्त्रिपरिषद्को बैठक परियोजनाको सभाहलमा बसेको हो।

प्रकाशित: ६ भाद्र २०७६ १०:०६ शुक्रबार

प्रदेश_२ सर्लाही मन्त्रिपरिषद्_बैठक