राजनीति

धराैटी तिर्न नसकेर विप्लव कार्यकर्ता कारागार चलान

बैतडी- नेत्रविक्रम चन्द विप्लव समूहका एक कार्यकर्ता कारागार चलान भएका छन्। पुर्चौडी नगरपालिका–३ सल्लेवनका ४६ वर्षीय नैनसिंह धामी रु २५ हजार धरौटी तिर्न नसकेर कारागार चलान भएका हुुन्। बिहीबार जिल्ला अदालतले धामीलाई उक्त रकम धरौटी बुझाउन फैसला गरेको थियो। 

गत साउन १९ गते घरबाटै पक्राउ परेका धामीलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो। धामी सो समूहका गाउँ कमिटी सदस्य रहेका थिए। उनले यसअघि साउन १५ गते राति पुर्चौडीको कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोडका साथै तालाबन्दी तथा चन्दा असुलीमा समेत संलग्न रहेको आरोप लागेको थियो।  

त्यस्तैै गत असार २३ गते पनि प्रहरीले पाटन नगरपालिका– १० हतास घर भई उक्त समूहको विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य श्यामप्रसाद भट्टविरुद्ध पनि सार्वजनिक हितविपरीतको मुद्दा चलाइएको छ। रासस

प्रकाशित: ६ भाद्र २०७६ ०९:५७ शुक्रबार

विप्लव_समूह कार्यकर्ता कारागार_चलान