राजनीति

दुई पूर्वप्रधानमन्त्रीले जयशंकरलाई भेटेनन्

काठमाडाैं  - पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले मर्यादाक्रम नमिलेको भन्दै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटका लागि अस्वीकार गरेका छन्। दुईदिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आएका एस जयशंकरले बिहीबार नेपालका पूर्वप्रधानमन्त्रीसँग होटल द्वारिकाजमा छुट्टाछुट्टै भेटको कार्यक्रम तय गरेका थिए।

सोहीअनुसार उनीहरूलाई खबर भए पनि दाहाल र नेपालले मर्यादाक्रमअनुसार एस जयशंकरलाई भेट्न आफू जाने नभएर विदेशमन्त्री आउनुपर्ने भन्दै नगएका हुन्। तर, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र समाजवादी नेपाल पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भने जयशंकरसँग भेट गरेका छन्।

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्। नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका उनले बिहीबार राष्ट्रपतिभवन शीतल निवासमा भेट गरेका हुन्। भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

उनले बुधबार संयुक्त बैठक सुरु हुनुभन्दा पहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेट गरेका थिए। संयुक्त बैठकपछि विदेशमन्त्री जयशंकर बिहीबार नै स्वदेश फर्किएका छन्।

प्रकाशित: ६ भाद्र २०७६ ०१:१५ शुक्रबार

पुष्पकमल_दाहाल माधवकुमार_नेपाल एस_जयशंकर