राजनीति

मन्त्री अनुपस्थित : विधेयक पारित भएन

काठमाडाैं- औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठक स्थगन भएको छ।

विधेयक प्रस्तुतकर्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बैठकमा अनुपस्थित भएपछि छलफल नै नगरी स्थगन भएको समितिका सचिव कृष्णहरि खड्काले जानकारी दिए। दफावार छलफल सम्पन्न भएको उक्त विधेयक समितिबाट पारित गर्ने कार्यसूची थियो। उद्योगमन्त्री मातृकाप्रसाद यादव उपत्यका बाहिर रहेका छन्।

मुलुकमा असल औद्योगिक वातावरण तयार गर्ने उद्देश्यले ल्याइएको सो विधेयकमाथि गगनकुमार थापा, प्रेम सुवाल, मीनबहादुर विश्वकर्मालगायत १७ सांसदको ५९ वटा संशोधन प्रस्ताव छ। 

प्रकाशित: २ भाद्र २०७६ ०८:५२ सोमबार

औद्योगिक_व्यवसाय_विधेयक_२०७५ छलफल