राजनीति

‘एकता नगरेको भए हुन्थ्याे कि भन्ने लाग्न थालेको छ’

फाइल तस्बिर ।

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरूमा निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन्।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले आज काठमाडौंमा गरेको अन्तक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताए।

नेकपाको सचिवालय बैठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको स्पष्ट पारे।

कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौती दुवै भएको भन्दै उनले अहिले केही गर्न नसके इतिहासले धिक्कार्ने बताए। अध्यक्ष दाहालले यस्तो अवसर सधैँ नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: ३२ श्रावण २०७६ ०६:४९ शनिबार

एकता पुष्पकमल_दाहाल