राजनीति

भौतिक पूर्वाधार मन्त्री बर्खास्त

सुर्खेत - कर्णाली प्रदेश सरकारका ‘विवादित’ मन्त्री खड्कबहादुर खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुृर शाहीले बर्खास्त गरेका छन्। बैंकिङ कसुरमा उच्च अदालत पाटनले तीन दिनभित्र हाजिर हुन आदेश दिएका भौतिक पूर्वाधार मन्त्री खत्रीले नैतिकताका आधारमा राजिनामा नदिएपछि मुख्यमन्त्री शाहीले बिहीबार राति बर्खास्त गरेका हुन्।

बैंकिङ कसुरमा उच्च अदालत पाटनले तीन दिनभित्र पक्राउ गरेर अदालतमा हाजिर गराउन आदेश दिएलगत्तै मुख्यमन्त्री शाही, नेकपाको संसदीय दलको कार्यालय र उनी निकटका नेताहरुले खत्रीलाई नैतिकताका आधारमा राजिनामा दिन सुझाएका थिए। ‘उहाँ (खत्री)ले राजिनामा नदिने बताएपछि मुख्यमन्त्री शाहीले वर्खास्त गर्ने निर्णय गर्नु भएको हो,’ स्रोतले भन्यो, ‘अर्को निर्णय नभएसम्मका लागि भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्रीलेनै सम्हाल्नु हुनेछ।’

मुख्यमन्त्री शाही गृह जिल्ला कालिकोटमै रहेका बेला भौतिक पूर्वाधार मन्त्री खत्रीलाई बर्सास्त गरेका हुन्। खत्री संघीय राजधानी काठमाडौंमा छन्। बैंकिङ कसुरको मुद्धामा तानिएदेखिनै खत्रीलाई कर्णाली प्रदेश सरकार, संसदीय दल र पार्टीले राजिनामा दिन भनिरहेको थियो। उनले भूलबस गल्ती नगरेकाले राजिनामा नदिने बताउँदै आएका थिए। सात दिनदेखि काठमाडौंमा रहेका खत्री सोमबार उच्च अदालत पाटनमा हाजिर हुने तयारीमा छन्।

बिहीबार जनैपूर्णिमाको अवसर पारेर प्रदेश–३ सरकारले सार्वजनिक दिएको छ भने शुक्रबार (आज) गाइजात्राको अवसर पारेर उपत्यका विदा छ। स्रोतका अनुसार आइतबार सिंह संक्रान्ति भएकाले उनी अदालतमा हाजिर हुने मनस्थितिमा छैनन्। ‘नैतिकताका आधारमा राजिनामा गर्नुपर्नेमा उहाँले राजिनामा नदिएरै बस्नु भएकाले मुख्यमन्त्रीले बर्खास्त गर्नु भएको हो’ मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘संसदीय दल र पार्टीको सल्लाहमै उहाँले वर्खास्त गर्नु भएको हो।’

काठमाडौंमा रहेका खत्रीलाई मुख्यमन्त्री शाही, नेकपाका प्रदेश कमिटी सहइन्चार्ज यामलाल कँडेललगायतले राजिनामा दिन भनेका थिए। खत्रीले आफूले राजिनामा नदिने बताएपछि मुख्यमन्त्री शाहीले बिहीबार राति साढे १० बजे बर्खास्त गर्ने निर्णय गरेका हुन्।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम भौतिक पूर्वाधार मन्त्री खत्रीलाई वर्खास्त गरिएको बताए। उनले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तत्कालका लागि मुख्यमन्त्रीलेनै सम्हाल्ने जानकारी दिए। भौतिक पूर्वाधार मन्त्रीलाई वर्खास्त गर्ने निर्णय बिहीबारनै प्रदेश प्रमुख दुर्गाकेशर खनालाई जानकारी गराइएको छ।

प्रकाशित: ३१ श्रावण २०७६ ०२:२२ शुक्रबार

खड्कबहादुर_खत्री वर्खास्त उच्च_अदालत