राजनीति

जोइन्ट कमान्डिङ सेन्टरबारे चिनियाँ चासो

चिनियाँ प्रशासनका स्टेशन मास्टर गाओ हु हाइ र रसुवाका प्रजिअ भण्डारीबीच पत्र हस्तान्तरण हुँदै। तस्बिरः नागरिक

रसुवा– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा स्थापना हुन लागेको जोइन्ट कमान्डिङ सेन्टरको विषयमा चिनियाँ पक्षले चासो देखाएको छ।

बुधबार चीनस्थित केरुङ पोर्टमा बसेको दुई पक्षीय ‘काउन्टर पार्ट’ बैठकमा सेन्टर स्थापनाको विषयमा चिनियाँ पक्षले चासो देखाएको हो। गत असारमा बसेको बैठकमा सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको थियो।

नाकामा हुन सक्ने मानव बेचविखन, सुन तस्करी, लागुऔषधको ओसारपसार न्यूनीकरणका लागि सेन्टर स्थापना गर्न लागिएकाले यसको प्रक्रिया अघि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

बैठकलाई सम्बोधन गर्दै प्रजिअ भण्डारीले यसका लागि मन्त्रालयमा विवरण पठाइएकाले चाँडै स्थापना हुने बताएका हुन्। सेन्टरले नाकामा देखिएका समस्याको समाधान गर्ने, नाकामा हुन सक्ने अवैध गतिविधि नियन्त्रणका लागि सूचना संकलन गर्ने, दुई देशबीच समन्वय गर्ने तथा आ–आफ्नो निकायमा रिपोर्टिङ गर्ने कार्य गर्नेछन्।

यसैबीच चीनस्थित केरुङ सीमा तथा अध्यागमन प्रशासनले रसुवास्थित प्रहरी निकायको प्रयोजनको लागि उद्धार तथा सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ। नाकामा रहेका प्रहरीलाई मजबुत बनाउनका लागि ११ प्रकारका सामग्री हस्तान्तरण गरेको हो। बुधबार एक कार्यक्रमका बीच चिनियाँ प्रशासनका स्टेशन मास्टर गाओ हु हाइ र रसुवाका प्रजिअ भण्डारीले हस्तान्तरण पत्रमा हस्ताक्षर गरेका थिए।

बुधबार पुलिस फ्ल्यास लाइट, टियर ग्यास, सन ग्लास, एन्टी कट ग्लोब, नाइट भिजन क्यामेरा, हेलमेट, स्टाब रेजिस्टयान्ट भेष्ट, सिल्ड र सोलार पुलिस अलार्म लाइट ३०/३० वटा र सोलार इमर्जेन्सी लाइट तथा सिङ्गल ट्युब टेलिस्कोप पाँच/पाँचवटा दिएको प्रजिअ भण्डारीले बताए।

प्रकाशित: २९ श्रावण २०७६ ११:४६ बुधबार

चीन रसुवागढी चासो