राजनीति

भिजिट नेपाल २०२० लाई केन्द्रीत गर्दै पुनर्निर्माणमा जुटेका छौंः मेयर शाक्य

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भिजिट नेपाल २०२० लाई मध्यनजर गर्दै महानगरपालिकाले सम्पदा पुनर्निर्माणको कामलाई तीव्रता दिएको बताएका छन्। 

‘यतिबेला काठमाडौँ महानगरपालिकाको ध्यान भिजिट नेपाल २०२० तर्फ केन्द्रित भएको छ,’ मेयर शाक्यले राजकीर्ति महाविहार (टेवाहाल) भित्र रहेको अक्षेभ्य तथागतको मन्दिर पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा भने,  ‘हामी अहिले त्यसैलाई केन्द्रीत गरेर महानगरपालिका भित्रका सम्पदा पुनर्निर्माण गर्ने, हरियाली प्रवर्द्धन गर्ने जस्ता कार्यमा लागेका छौं। यो मन्दिर निर्माण पनि त्यसैको एउटा उदाहरण हो।’ 

उनले भिजिट नेपाल २०२० मा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न पनि महानगरपालिकाले केही बढी मेहनत गर्नुपर्ने भन्दै सबै जनप्रतिनिधिलाई पनि एकाकार भएर अघि बढ्न आग्रह गरे। ‘न्युरोड काठमाडौंको पनि केन्द्रभागमा अवस्थित छ’, उनले भने, ‘विश्व सम्पदा सूचीमा सुचिकृत क्षेत्रको आसपासमा रहेको न्युरोडलाई हामी नमूना बनाउन चाहन्छौँ। हामी त्यहीँ अनुसार नै काम गरिरहेका छौँ।’

मेयर शाक्यले अब टे बहालकै आगम घर र संकटा मन्दिर पुनर्निर्माण छिट्टै सम्पन्न गर्ने बताए। ‘सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम गर्नुहोस्’, उनले भने, ‘तपाईँहरु सम्पदा निर्माणको योजना लिएर आउनुहोस् बजेट अभाव हुन दिन्न।’

उनले सम्बोधनकै क्रममा सम्पदा निर्माण एक जनाको मात्र पहलमा सम्भव नहुने तथा सबैको सहयोग आवश्यक रहने भन्दै महानगरपालिका भित्रका सम्पदा निर्माणमा सबैको हातेमालो आवश्यक रहने पनि बताए। ‘सांसद विकास कोष, प्रदेश सरकार, महानगर र वडाबाट आउने बजेट एकीकृत गरेर काम अघि बढाउने हो भने धेरै काम गर्न सकिन्छ’, मेयर शाक्यले भने, ‘अन्य ठाउँमा सम्पदा पुनर्निर्माणमा पनि तपाईँहरु जुट्नुहोस्। म सहयोग गर्न तयार छु।’

काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डा. अजयक्रान्ति शाक्य, क्षेत्र नम्बर ८ का प्रदेश सांसद राजेशकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको सो कार्यक्रममा काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, श्री संकटा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष चक्रेश्वर मोतिकाजी बज्राचार्यलगायतले पनि सम्बोधन गरेका थिए।

मन्दिर काठमाडौं महानगरपालिकाको २२ लाख २४ हजार ९ सय ४६, सांसद विकास कोषको ८ लाख ११ हजार ९ सय ४० र उपभोक्ता समितिको ३६ लाख ६७ हजार ४ सय २ रुपैयाँ सहयोगमा निर्माण भएको हो। मन्दिरको डिजाइन काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको थियो। 

प्रकाशित: २८ श्रावण २०७६ ११:३१ मंगलबार

काठमाडौं_महानगरपालिका सम्पदा_पुनर्निर्माण भिजिट_नेपाल