राजनीति

भारत, अमेरिका र युरोपियनबाट नेपालको राष्ट्रियतामाथि खतराः अध्यक्ष केसी

रुपन्देही– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१ औ शताब्दीमा पनि नेपाल परनिर्भतामा गुज्रिएको बताएका छन्। उनले गाँस, बास र कपासका लागि नेपाली जनताले लामो समयदेखि संघर्ष गरे पनि अहिलेसम्म जनताका आधारभूत समस्या हल हुन नसकेको बताए। नेपालमा राजनीतिक क्रान्ति पुरा नभएको बताउँंदै उनले भारत, अमेरिका र युरोपियनबाट नेपालको राष्ट्रियतामाथि खतरा रहेको बताए। 

भारत, अमेरिका र युरोपियनहरुलाई नेपाल चाहिएकाले उनीहरुबाट नेपालको राष्ट्रियता खतरामा परेको अध्यक्ष केसीको दावी छ। अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रियता, अखण्डता र सार्वभौमिकता बचाउन विदेशी शक्ति केन्द्रहरुसँग सजग रहनु पर्नेमा जोड दिए। 

राष्ट्रियता, अखण्डता र सार्वभौमिकता देश र जनताको लागि सबैभन्दा ठूलो सम्पति भएको उनले बताए। सत्तामा रहेकाहरु विदेशी शक्ति केन्द्रहरुसँग बोल्न डराएकै कारण नेपाल अहिलेसम्म परनिर्भतामा गुज्रिएको र देशको अर्थतन्त्र झनै बिग्रिएको बताए। भारतको इशारामा नेपालमा भएका  उद्योग कलकारखानाहरु बन्द गरिएको उल्लेख गर्दै सत्ताको लोभमा सत्तासिनहरु बोल्न डराउँदा झनै समस्या भएको बताए। शिक्षा, स्वास्थ्य, रोजगारी, राष्ट्रिय उद्योग कलकाराखाना निजीकरण गरिएकै कारण नेपाल झनै भारतसँग परनिर्भतामा बाच्नु पर्ने अवस्थाको सिर्जना गरिएको बताए। 

अध्यक्ष केसीले राष्ट्रिय उद्योगहरुको संरक्षणका लागि स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिएर विदेशी आयातलाई रोक्नु पर्ने बताए। राज्यले नीति नियम र कार्यक्रम बनाउन सके विदेशबाट आयत हुने समानलाई रोक्न सकिने र त्यसका लागि सत्तासिनहरुको सोंच, विचारमा परिवर्तन आउन जरुरी रहेको बताए। ‘नेपाललाई आर्थिक रुपमा स्वतन्त्र र आत्मनिर्भर देश बनाउनु पर्छ’, उनले भने, ‘त्यसका लागि सामूहिक राष्ट्रिय लगानीलाई प्राथमिकता दिनुपर्छ।’ उनले संघीयताले काटेको घाउमा नुन, चुक थप्ने काम गरेको बताउँंदै संघीयताको आवरणमा हिमाल, पहाड छोडिएको बताए। 

प्रदेशसभा सांसद तारा जिसीले देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु पर्ने र त्यसका लागि विदेशी लगानी रोक्नु पर्ने बताइन्। उनले सरकार नै विदेशी लगानीको पक्षमा रहेकाले सरकारकै गलत कामले नेपालमा उद्योग कलकारखानाहरु खुल्न नसकेको बताइन्। अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डीराज पौडेलले मुलुकको आर्थिक क्रान्तिका लागि राज्यले उद्योगमैत्री नीति बनाउनु पर्ने बताए। 

प्रकाशित: २५ श्रावण २०७६ १३:१८ शनिबार

राष्ट्रिय_जनमोर्चा चित्रबहादुर_केसी राष्ट्रियता परनिर्भता