राजनीति

तीनै तहका सरकार मिलेर रामग्रामको विकास गर्छाैँ : मन्त्री भट्टराई

फाइल फाेटाे

परासी– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तीनै तहका सरकार मिलेर रामग्रामको विकास गर्ने बताएका छन्।

बुद्धसर्किटअन्र्तगतका बुद्धस्थलको भ्रमणका लागि बुधबार पश्चिम नवलपरासीको ऐतिहासिक रामग्राम स्तूप क्षेत्रको अवलोकनमा आएका मन्त्री भट्टराईले स्थानीय अगुवासँगको अन्तरक्रियामा भने, 'यो स्तूप क्षेत्रको विकासमा प्रधानमन्त्रीको पनि विशेष चासो रहेको छ, हामी सङ्घ, प्रदेश र स्थानीय तिनै तहका सरकार मिलेर यसको विकास गर्छाैँ, तर संरक्षण गर्ने काम तपाईँहरुकै हो।'

मन्त्री भट्टराईले लुम्बिनी गुरुयोजनाअनुसार रामग्रामको ऐतिहासिकता र पुरातात्विकता संरक्षण हुने गरी विकासका संरचना अघि बढाउने उल्लेख गरे। 'रामग्राम स्तूप क्षेत्र अब हिजोको जस्तो अवस्थामा हुने छैन, गुरुयोजनाअनुसार हामीले यसको ऐतिहासिकता जोगाएर आवश्यक संरचना बनाउछौँ र भैरहवामा विमानस्थल बनेपछि यहाँ पर्यटन आगमन थप बढ्नेछ', उनले भने।

सो अवसरमा प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले रामग्रामको विकासमा प्रदेश सरकारले यस वर्ष बुद्ध सङ्ग्रहालय, स्तुप र देउरवा जोड्ने पुल निर्माणको लागि प्रक्रिया शुरु गरिसकेको जानकारी दिए। यसैगरी लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्यले स्तूपमा सात अर्ब १३ करोड रुपैयाँको लागतमा स्तूपमा काम गर्ने गरी योजना बनाइएको उल्लेख गरे। उनले भने, 'हामी एक वर्षदेखि जग्गा अघिग्रहणको लागि लागिरहेका छौँ, त्यसको फाइल अहिले अर्थ मन्त्रालयमा पुगेको छ, त्यसका साथै यहाँ सङ्ग्रालय र ध्यान केन्द्र पनि बनाउने योजना बनाएका छौँ।' रासस

प्रकाशित: २३ श्रावण २०७६ १२:५१ बिहीबार

याेगेश_भट्टराइ पर्यटन रामग्राम