राजनीति

सरकारलाई शर्माको चेतावनीः त्याग र बलिदानको उपेक्षा गरे राम्रो हुँदैन

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न सरकारसंग माग गरेका छन्। प्रतिनिधिसभाको बिहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले सत्य तथ्य पत्ता लगाई न्याय निरुपण नगरी शान्ति प्रक्रियाको काम पुरा नहुने भन्दै संवेदनशील विषयलाई हेलचेक्राई नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। उनले जिम्मेवारी पुर्वक आयोग तत्काल गठन गरि काम अघि बढाउन आग्रह गरे।

उनले संविधानमाथि नै प्रश्न उठाउने दुश्प्रयास भईरहेको भन्दै त्यो आफुहरुलाई स्वीकार्य नहुने चेतावनी दिए। संघीय संरचनामा काम गर्ने क्रमका कानुनलगायतको अभावले केही जटिलता देखिएको भएपनि सोही विषयलाई लिएर संघीय प्रणालीमाथिको प्रश्न उठ्नलाई स्वभाविक रुपमा लिन नसकिने बताए। संघीयतामाथि उठ्ने गरेका हरेक प्रश्नले त्याग र बलिदानको उपेक्षा गरेको टिप्पणी उनले गरे।

उनले भने “संघीय व्यवस्था भनेको गुडिया होइन्। खेलौना होइन्। यो एउटा बच्चाले मन परेन भनेर फेर्न सकिदैन। त्याग र बलिदानबाट प्राप्त भएको कुरा हो त्यसकारणले यसलाई गुडियाको रुपमा नलिईयोस्। म सचेत र सर्तक गराउन चाहन्छु। ”

प्रकाशित: २३ श्रावण २०७६ ११:४१ बिहीबार

नेकपा द_जनार्दन_शर्मा सत्य_निरुपण_तथा_मेलमिलाप_आयोग सरकार