काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उडड्यन विद्यालय (फ्लाइङ स्कुल) स्थापना गर्ने नयाँ योजना सार्वजनिक गरेका छन्।
उनले देशभित्रै पाइलटहरू उत्पादन गर्न र उनीहरूलाई आवश्यक तालिमको व्यवस्था गर्न सो विद्यालय स्थापना गर्ने योजना तय गरेको स्पष्ट पारे।
बुधबार आफ्नै मन्त्रालयमा सञ्चारकर्मीहरूमाझ उनले ५० लाख बढी खर्च गरेर पाइलट पढ्न विदेश जानुपर्ने अवस्था रहेको बताए। ‘सोभन्दा कम खर्चमा देशभित्रै पाइलट अध्ययनको व्यवस्था गर्न पनि सो विद्यालय स्थापना गर्ने सोच बनाइएको हो,’ उनले भने, ‘त्यसका लागि सरकारले केही लगानी गर्ने र अन्य लगानी वायु सेवा कम्पनीहरूबाट जुटाइनेछ।’
मन्त्री भट्टराईले वायु सेवा कम्पनीहरूलाई पनि पाइलट चाहिने भएकाले उनीहरूले पनि सो विद्यालयमा लगानी गर्ने विश्वास पनि व्यक्त गरे। उनले सो विद्यालय स्थापनासम्बन्धी विस्तृत योजना केही दिनभित्रै ल्याउने घोषणा गरे।
प्रकाशित: २२ श्रावण २०७६ ०८:१७ बुधबार