राजनीति

हलेसी तुवाचुङ–दक्षिणकालीबीच भगिनी सम्बन्ध

भगिनी सम्बन्ध कायम गर्ने क्रममा आपसमा सझमदारीपत्र हस्तान्तरण गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत। तस्बिर: नागरिक

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका र काठमाडौंको दक्षिणकाली नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ।  पारस्परिक सम्बन्ध स्थापित गर्दै धार्मिक पर्यटन प्रवद्र्धन गर्दै आर्थिक अभिवृद्धि गर्नेगरी आइतबार सो भगिनी सम्बन्ध कायम गरिएको बताइएको छ।

  नेपालको संविधान २०७२ को अनुसूची ८ का १२औं बुँदा तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (ठ) (४) अनुसार काठमाडौंमा हलेसी तुवाचुङका मेयर इवन राई र दक्षिणकालीका मेयर मोहन बस्नेतले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।  त्रि–धार्मिकस्थल हलेसी र प्रसिद्ध तीर्थस्थल दक्षिणकाली रहेका दुई नगरपालिकाबीच धार्मिक पर्यटन प्रवद्र्धन गर्न आवश्यक वातावरण सिर्जना गर्ने, सामाजिक अन्तरसम्बन्ध कायम गर्ने, भौगोलिक विविधताको उचित सम्बोधन तथा सदुपयोग गर्ने, व्यापारिक अन्तरसम्बन्ध कायम गर्नेलगायतका १२ बुँदे समझदारी भएको हो।

यस्तै, उद्योग, वाणिज्य, पशुपालन, पर्यटन, सहकारी र वित्तीय सम्वन्ध कायम गर्ने, पुर्वाधार विकास सम्बन्धमा उचित अन्तर सम्बन्ध कायम गर्ने, संस्थागत विकास, सेवा प्रवाह र सुशासनसम्बन्धी उचित अन्तरसम्बन्ध कायम गर्ने, असल अभ्यासलाई आपसमा अनुशरण गर्ने, समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्ने सम्बन्धमा सक्दो सहयोग गर्ने, ज्ञानको आदानप्रदान गर्ने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न आपसमा धार्मिक पर्यटन भ्रमणलाई प्रवद्र्धन गर्नेलगायत समझदारी कायम गरिएको हलेसी तुवाचुङका मेयर राईले बताए।

  समझदारीपत्रमा हस्ताक्षर गर्ने क्रममा हलेसी तुवाचुङ–४ का वडाध्यक्ष किशोर बस्नेत, वडा ५ का वडाध्यक्ष रमेश तिवारीलगायतको उपस्थिति थियो।

प्रकाशित: २० श्रावण २०७६ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App