काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेता एवं सांसद महेश बस्नेतले नेपालमा अब दुई राजनीतिक दलमात्र बाँकी रहने जिकिर गरेका छन्।
अमेरिकन युथ काउन्सिल २०१९÷२० को आयोजना तथा सिभिक इन्गेजमेन्ट अन्तर्गत प्रदेश नम्बर ३ का ४० बर्षमुनिका युवा जनप्रतिनिधिको सहभागितामा सम्पन्न अभिमुखिकरण तथा अन्तरक्रियामा बोल्दै बस्नेतले नेपालमा अब दुई दलमात्र रहने भएकाले कुनै एकमा मिसिन मधेसकेन्द्रीत दललाई आग्रह गरे।
उनले सामूहिक भावनाबाट मात्र समग्र देशको विकास हुने उल्लेख गर्दै युथ काउन्सिलजस्ता संस्थाले आम युवाको भावनाको प्रतिनिधित्व गरेकोमा प्रशंसा गरे।
नेपाली कांगे्रसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्ययले युवा नेतृत्व विकासका लागि नेपालमा राजनीतिक दलको भूमिका अहम रहेको बताइन्। युवाको भावना पन्छाएर देश समृद्ध नबन्ने भन्दै उपाध्यायले युवा लक्षित कार्यक्रममा बिशेष ध्यान दिन सरकारलाई आग्रह गरिन्।
अमेरिकन दूतावासकी राजनीतिक बिभाग प्रमुख रोजी कट्टेलले युवाहरु देखासिकीमा लागेकोमा असन्तुष्टि जनाउँदै आफैसँग प्रतिस्पर्धा गर्दै, आफू र समाजको हितमा लाग्न आग्रह गरिन्।
राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य डा. सुमित्रा अमात्यले राज्यले नीति तथा कार्यक्रम बनाउँदा युवालाई बिशेष प्राथमिकतामा राख्नुपर्ने बताइन्।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले परिषदले ल्याएका युवा लक्षित कार्यक्रमका बारेमा जानकारी गराए। उनले राज्यले के गर्यो भन्दा पनि युवाले आफैं खोज्नु पर्नेमा जोड दिए।
करिब ४० प्रतिशत जनसंख्या युवा रहेको नेपालमा विकास प्रक्रियामा आम युवाको सहभागिता कसरी गर्न सकिन्छ? सुशासनका निम्ति युवाको भुमिका के हुन सक्छ? भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको आयोजक समुन्द्र तिमल्सिनाले जानकारी दिए।
कार्यक्रममा युवा उद्यमी मनिष झाले युवाहरु नेतृत्व गर्न तयार भएर उपभोग भन्दा उत्पादनमुखी हुनुपर्नेमा जोड दिए।
प्रकाशित: १९ श्रावण २०७६ १२:१० आइतबार