राजनीति

एउटा व्यक्तिलाई प्रदेशकै जिम्मा लगाइनु गलत

भेलालाई सम्बोधन गर्दै महामन्त्री शशांक कोइराला । तस्बिरः टंक/नागरिक

सर्लाही– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश दुई एउटा व्यक्तिलाई जिम्मा लगाइनु पार्टी हित विपरित भएको बताएका छन्। पछिल्लो समय दुई नं. प्रदेशमा उपसभापति विमलेन्द्र निधीलाई बढी जिम्मेवारी दिइएको प्रति ईंगित गर्दै महामन्त्री कोइरालाले त्यस्तो कार्य पार्टी हित विपरित भएको बताएका हुन्।

आइतबार सर्लाहीको लालबन्दीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सामुहिक रुपमा अगाडी बढेर प्रदेशमा दुई पार्टीलाई मजबुत बनाउनेतर्फ ध्यान दिन आवश्यक रहेको बताए। ‘था छ के भन्छन्, केन्द्रमा? प्रदेश दुई त विमलेन्द्र निधीलाई जिम्मा लगाइएको भन्छन्’, उपस्थित कांग्रेस कार्यकर्ताप्रति ईंगित गर्दै उनले थपे, ‘यो त तपाईंहरुलाई सुन्दा पनि राम्रो लाग्दैन, कुनै एउटा व्यक्तिलाई जिम्मा लगाउने हो कि, हाँमी सामुहिक जाने हो?’

पहिला प्रदेश दुईमा कांग्रेसको गढ भए पनि पछिल्लो चुनावमा आफ्नै कारणले लज्जास्पद हार व्यहोर्नु परेको महामन्त्री कोइरालाको कथन थियो। ‘हाम्रै गुटउपगुटले हामीले लज्जास्पद हार व्यहोरेका छौं, अरु पार्टी जुटेर हैन हाम्रै गुटउपगुट हारको मुख्य कारण हो’, कोइरालाले भने, ‘गुट र उपगुट त महाधिवेशनमा मात्र हुनुपर्छ, हरेक महाधिवेशन सकिने वितिकै गुटउपगुट सकिनुपर्छ अनि मात्र पार्टी मजबुत हुन्छ।’

आफ्नो ध्यान अब महाधिवेशनतर्फ मात्र बढी केन्द्रीत भएको उल्लेख गर्दै महामन्त्री कोइरालाले पार्टीलाई कसरी शक्तिशाली बनाउने भनेर अगाडी बढिरहेको बताए। दुईवर्ष भित्र पार्टीको महाधिवेशन हुने र त्यसको एकवर्ष पछि नै स्थानीय तहको निर्वाचन हुने भएकाले पार्टीलाई मजबुत बनाउँदै निर्वाचनमा विजय हाँसिल गर्नका लागि आप्mनो ध्यान महाधिवेशनमा मात्र रहेको महामन्त्री कोइरालाको तर्क थियो।

कांग्रेस कार्यकर्ताको भविष्य सुरक्षित गर्न र समाज परिवर्तनका लागि मात्र आफू चिकित्सक पेशा छाडेर राजनीतिमा आएको नेता कोइरालाले दाबी गरे। ‘मैले राजनीति किन गरेँ? म त एउटा ठूलो डाक्टर भईसकेको थिएँ नि, बरु आँखाकै उपचार गरेर जीवन धान्न सक्थे नि’, महामन्त्री कोइरालाले थपे, ‘मैले राजनीति गरेको जीवन धान्न हैन, मैले त विपी कोइरालाको पुत्रको नाताले विपीले लिएको जुन विचार छ, त्यसलाई टेकेर तपाईंहरुको भविष्य सुरक्षित राख्नका लागि मैले राजनीति गरेको हो, मैले आफ्नो लागि हैन, मलाई त के चाहिन्छ र?’

वर्तमान सरकार संघीयता विरोधी भएको दाबी गर्दै महामन्त्री कोइरालाले सरकारले संघीयताको बोध नै नगरेको आरोप लगाए। संघीयताको मर्म अनुसार प्रान्तलाई बलियो बनाउनु पर्ने भएपनि वर्तमान सरकारले स्थानीय सरकारलाई मात्र जोड दिएको आरोप लगाए।

‘स्थानीय तहलाई २० देखि २५ प्रतिशत बजेट दिने अनि प्रदेश सरकारलाई चाँही ३० प्रतिशत मात्रै बजेट छुट्याईने गरिएको छ’, उनले भने, ‘विकेन्द्रीकरणको अन्तिम लक्ष्य संघीयता हो, संघीयतामा गईसकेपछि बजेटमा प्रदेश सरकारलाई प्राथमिकता दिनु पर्ने हो नि, तर वर्तमान सरकारले त्यो केही पनि गरेन।’

प्रकाशित: १९ श्रावण २०७६ ०९:५३ आइतबार

नेपाली_कांग्रेस शशांक_कोइराला