राजनीति

सरकार छाड्ने/नछाड्नेमा समाजवादीमा अलमल

काठमाडौं - पार्टी गठन भएको तीन महिना पूरा हुन लाग्दा पनि सरकार छाड्ने नि नछाड्ने भन्नेमा समाजवादी पार्टीले निचोड निकाल्न सकेको छैन। पार्टीका आन्तरिक बैठकमा सरकार छाड्ने÷नछाड्ने विषयमा छलफल र चर्चा हुने भए पनि पार्टीले यस विषयमा स्पष्ट दिशा लिन नसक्दा अलमल कायमै रहेको हो।

सरकारमा रहने वा छाड्ने भन्ने विषयमा स्पष्ट निर्णय लिन पार्टीभित्रबाट नेतृत्वमाथि दबाब आउने गरे पनि पार्टी अध्यक्ष उपेन्द्र यादवले भने अहिलेसम्म खासै प्रतिक्रिया व्यक्र गरेका छैनन्। सोही कारण यादव पक्षधर नेताहरू पार्टीले तत्काल सरकार छाड्ने सम्भावना नभएको बताउँदै आएका छन्।

पार्टी स्रोतका अनुसार पार्टीको कार्यकारिणी अध्यक्ष यादव तत्काल सरकार छाड्ने पक्षमा छैनन् भने राष्ट्रिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलगायतका केही नेताहरू पार्टीले तत्काल सरकार छाडेर प्रतिपक्षीमा बस्नुपर्ने अडानमा छन्। केही दिनअघि बसेको पदाधिकारी बैठकमा यसबारेमा चर्चा भए पनि कुनै निर्णय भने हुन सकेन। तत्कालीन संघीय फोरम र नयाँ शक्तिबीच एकीकरण भई समाजवादी पार्टी गठन हुँदा एकीकरणपछि एकीकृत पार्टीले सरकार छाड्ने सहमति भएको पूर्व नयाँ शक्ति पक्षधर नेताहरू दाबी गर्छन्। पूर्व फोरमका नेताहरू भने सरकार छाड्ने विषयमा एकीकरणअघि सहमति नभएको बताउँछन्।

समाजवादी पार्टीकी उपाध्यक्ष तथा पूर्व फोरमकी नेतृ रेणु यादव भने समाजवादी पार्टी र नयाँ शक्तिबीच एकीकरण हुनुअघि एकीकृत पार्टीले सरकार छाड्ने विषयमा सहमति नभएको बताउँदै समाजवादी पार्टीले तत्काल सरकार छाड्ने सम्भावना नदेखिएको बताउँछिन्। उनी भन्छिन्, ‘तत्काल सरकार छाड्ने निर्णय हुने स्थिति छैन। यसबारेमा पार्टीभित्र छलफलसमेत भएको छैन।’ तर पूर्व नयाँ शक्तिका नेताहरू तत्कालीन फोरमसँग एकीकरण हुँदा एकीकरणपछि सरकार छाड्ने विषयमा सहमति भएको दाबी गर्छन्।’ समाजवादी पार्टीका विज्ञ सदस्य तथा तत्कालीन नयाँ शक्तिका नेता नारायण तिवारीले एकीकरणपछि पार्टीले स्पष्ट लाइन नलिएकोमा पार्टी नेतृत्वप्रति असन्तुष्ट पोखे। ‘पार्टी गठन भएको तीन महिना हुन लागिसकेको छ, तर सहमतिअनुसार पार्टीले अझै स्पष्ट लाइन लिन सकेको छैन,’ उनले भने।

२२ गते बस्ने पदाधिकारी बैठकमा यसबारे छलफल हुने पार्टीका नेताहरूले जानकारी दिएका छन्। केही दिनअघि बसेको पार्टीको पदाधिकारी बैठकमा यसबारेमा छलफल भएको थियो तर छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन। उपाध्यक्ष यादव भने २२ गतेको पदाधिकारी बैठक तत्कालीन संघीय फोरम र नयाँ शक्ति पार्टीका जिल्ला तथा भ्रातृ संगठनबीच समायोजन गर्र्ने विषयमा केन्द्रित हुने बताउँछिन्। केन्द्रमा दुई पार्टीबीच एकीकरण भए पनि दुई पार्टीका जिल्ला समिति, तथा भ्रातृ संगठनबीच अझै समायोजन हुन सकेका छैनन्।

झण्डा पनि फोरमकै
नव गठित समाजवादी पार्टीले आफ्नो झण्डा पनि तत्कालीन संघीय समाजवादी फोरमको झण्डा प्रयोग गर्ने भएको छ। तत्कालीन फोरमले प्रयोग गरेको झण्डालाई निरन्तरता दिने निर्र्णय समाजवादी पार्टीले गरेको छ। निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिन समाजवादी पार्टीका नेताहरूले तत्कालीन फोरमको झण्डा प्रयोग गर्न प्रस्ताव गरेका थिए।

चुनाव चिह्नका बारेमा भने सो पार्टीले अझै टुंगो लगाएको छैन। पार्टीका नेता शिवजी यादवका अनुसार तत्काल चुनाव नभएकोले अहिले नै चुनाव चिन्हको टुंगो नलगाएको बताए। पार्टी एकीकरणपछि एकीकृत पार्टीले उठाएका मुद्दामध्ये अधिकांश तत्कालीन फोरमले उठाएका मुद्दाहरू छन्। आयोगले शुक्रबार मात्र समाजवादी पार्टीलाई दल दर्ता गरेको छ। वैशाख २३गते तत्कालीन संघीय फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण गरी समाजवादी पार्टी निर्माण गरिएको थियो। नव गठित पार्टीको केन्द्रिीय समिति ४ सय ३० सदस्यीय र पदाधिकारी २५ सदस्यीय छ। यसैगरी पार्टीमा केन्द्रीय निर्वाचन आयोग, अनुशासन समिति र विज्ञ समिति गठन गरिएका छन्।

प्रकाशित: १९ श्रावण २०७६ ०२:०१ आइतबार

समाजवादी_पार्टी अलमल