राजनीति

जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाइन्छः पण्डित

फाइल तस्बिर ।

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका छन्। मन्त्री पण्डितले कार्यक्षमता अभाव भएका कर्मचारीलाई बिदा गर्ने पनि स्पष्ट पारे।

शुक्रबार मन्त्रालयद्वारा आयोजित वार्षिक कार्य प्रगति समीक्षात्मक बैठकमा बोल्दै उनले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कुनै पनि किसिमको छुट दिन नसकिनेतर्फ पनि सचेत गराए।

मन्त्री पण्डितले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्य सम्पादन सम्झौता गरेको स्मरण गराउँदै त्यसलाई पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरूलाई सचेत गराए। तोकिएको काम पूरा नभए सम्बन्धित कर्मचारीमाथि कडा कारबाही हुने मन्त्री पण्डितको भनाइ छ।

मन्त्री पण्डितले समायोजनामा गएका कर्मचारीहरूको तह र श्रेणीको तलबमा देखिएको समस्या एक हप्ताभित्र समाधान गर्ने आश्वासन पनि दिए। उनले कर्मचारीहरूको सुविधामा कुनै समस्या नहुने तर तोकिएको जिम्मेवारी पूरा नगरे कडा कारबाही हुने पनि स्पष्ट पारे।

मन्त्री पण्डितले गत वर्ष आफ्नो मन्त्रालयले व्यवस्थाकीय काममा उल्लेख्य प्रगति गरेको दाबी गर्दै चालू आर्थिक वर्षमा विकास, निर्माणको कामलाई तीव्रता दिने पनि बताए।

प्रकाशित: १७ श्रावण २०७६ ११:५२ शुक्रबार

लालबाबु_पण्डित मन्त्री