राजनीति

शैक्षिक माग पूरा नभए कडा आन्दोलन गर्ने नेविसंघको चेतावनी

काठमाडौं - निजी शिक्षण संस्थाहरूले बढाएको चर्को शुल्कविरुद्ध आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बिहीबार आफ्ना माग पूरा हुनुपर्ने मागसहित शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ।

निजी शिक्षण संस्थाहरुले बढाएको चर्को शुल्कविरुद्ध आन्दोलनरत संघले एघारबुँदे ज्ञापनपत्र शिक्षामन्त्रीलाई बुझाएको विद्यार्थी नेता मोतीलाल भण्डारीले जानकारी दिए।  ज्ञापनपत्रमा निजी शिक्षण संस्थाहरूले गरेको शुल्क वृद्धि निर्णय फिर्ता लिई एकरुपता कायम गर्न माग गरिएको छ।  त्यस्तै शिक्षाको गुणस्तरमा सुधार ल्याउन पनि माग गरिएको छ।

निजी स्कुल र कलेजहरूले मनपरी शुल्क लिएको जनगुनासो बढिरहेका बेला संघ चर्को शुल्क वृद्धिको निर्णय खारेजी र शिक्षामा गुणस्तरीय सुधारको माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएको हो।  एकातिर विद्यालयदेखि विश्वविद्याल तहसम्मको सरकारी शिक्षा धरासायी बन्दै जानु र अर्कोतर्फ निजी शिक्षण संस्थाहरूले अभिभावकको ढाड सेक्ने गरी मनपरी शुल्क असुल्दा पनि सरकार मौन बसेको भन्दै संघले शिक्षामा सुधारका कदम अघि बढाउन माग गरेको छ। 

शिक्षा क्षेत्रमा रहेका बेथिति अन्त्य नगरिएसम्म गुणस्तरीय शिक्षाको कल्पनासम्म गर्न नसकिने ठहर संघको छ।  संघले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारिएका माग पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी सरकारलाई दिएको छ।  आन्दोलन संयोजक संघका नेता भण्डारीको नेतृत्वको टोलीले शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

प्रकाशित: १७ श्रावण २०७६ ०२:२० शुक्रबार

नेविसंघ शिक्षण_संस्था आन्दोलन