काठमाडौं– विद्यार्थी आन्दोलनबाट उदाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ‘युवा’ नेता योगेश भट्टराईले पहिलोपटक मन्त्रीको जिम्मेवारी पाएका छन्। हेलिकोप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रतिबद्धता मुताबिक योगेशलाई बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पदमा नियुक्त गरेका हुन्। योगेशले बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट देश र जनताको नाममा सपथ लिए। सपथ लिँदै गर्दा योगेशका अगाडि चुनौतीका चाङ छन्। वाइडबडी घोटालादेखि नेपाल वायु सेवा निगमको ओरालो यात्रा, पर्यटन वर्ष २०२० सफल बनाउने लगायत समस्यालाई पार लगाएर सफल मन्त्रीको पहिचान बनाउने चुनौती उनीमाथि छ।
तमाम चुनौतीका बीच पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका योगेशलाई उनका समकालिन तथा सहयोद्धाहरुले सफल कार्यकालसहित युवा राजनीतिज्ञप्रतिको विश्वास कायम राख्न सुझाव दिएका छन्। उनीहरुले भ्रष्टाचारको दलदलमा फसेको मन्त्रालयलाई माथि उकास्न र रवीन्द्र अधिकारीले सुरु गरेका कामलाई सम्पन्न गर्न पनि शुभकामना दिएका छन्।
प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवं समकालिन गगन थापाले जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेर युवा पुस्ताका राजनीतिज्ञप्रतिको आशा र विश्वासलाई यथार्थमा परिणत गर्न आग्रह गरेका छन्। ‘योगेश दाइ, मन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टीसंग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वाससंग जोडिएको छ। मुरी मुरी शुभकामना’, पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले सुझाव दिएका छन्।
कांग्रेसकै युवा नेता प्रदीप पौडेलले युवापुस्ताको आशामा तुषारापात नहुनेगरी फराकिलो सोचका साथ राष्ट्रिय हितमा महत्वपूर्ण योगदान पुग्नेगरी काम गर्न योगेशलाई सुझाव दिएका छन्। ‘युवापुस्ताका आशामा तुषारापात नहोस्, फराकिलो सोचका साथ राष्ट्रिय हितमा महत्वपूर्ण योगदान पुगोस्, हाम्रो पुस्ता उस्तै होइन फरक छ भन्ने विश्वास कÞायम रहोस’, उनले भनेका छन्।
कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले भ्रष्टाचारको दलमा फसेको पर्यटन मन्त्रालयलाई माथि उठाएर आफ्नो क्षमता गर्न योगेशलाई शुभकामना दिएका छन्। ‘प्रिय मित्र योगेशजी! भ्रष्टाचारको दलदलमा फँसेर अरबौं घाटामा परिरहेको पर्यटन मन्त्रालयलाई भ्रष्टाचारको दलदलबाट मुक्त गरेर जनताको बीचमा आफ्नो कौसलता देखाउनु होला, शुभकामना छ’, गुरुङले भनेका छन्।
नेकपाका स्थायी कमिटी सदस्य एवं सहयोद्धा घनश्याम भुसालले आफ्नो योग्यताले जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सुझाव दिएका छन्। ‘तपाईंले आजसम्म लिएका हरेक जिÞम्मेवारी जुन शानका साथ पूरा गर्नु भएको छ, यो जिÞम्मेवारी पनि त्यहीँ योग्यताका साथ सम्पन्न हुनेछ। हामी आफैंले बनाएका र कबुलेका मूल्यहरूले हामीलाई यहाँसम्म टिकाएका छन्। र, हामी जानुपर्ने टाढा छ’,
नेकपाका केन्द्रीय सदस्य एवं युवा नेता सूर्य थापाले आफ्नो विवेक र संस्थागत निर्णयका साथ कार्य गरेर अघि बढ्न योगेशलाई आग्रह गरेका छन्। त्यतिमात्रै होइन उनले योगेश आफ्नै कारण चार महिना ढिलोगरी मन्त्री भएको उल्लेख गरेका छन्। ‘यो जिम्मेवारी कम्तीमा ४ महिनाअघि नै आएको थाहा थियो। त्यतिबेला भएको भए नीति, कार्यक्रम र बजेट निर्माणमा भूमिका हुन्थ्यो र अहिले काम गर्न धेरै सहज हुन्थ्यो। आफ्नै कारणले मन्त्री बन्न ढिलो भयो’, उनले भनेका छन्।
नेता थापाले पर्यटन मन्त्रालय सम्हालेर र सम्हालिएर अघि बढेका नेताहरुको राम्रैसँग उन्नति र प्रगति भएको दृष्टान्त प्रस्तुत गर्दै मन्त्री र सेलिब्रेटी दुबै एकसाथ हुन सम्भव नहुनेतर्फ सचेत गराएका छन्। ‘किनभने, अब वास्तविक परीक्षा शुरू भएको छ। योग्यता, क्षमता र कार्यसम्पादनको समस्या र कमी छैन र होइन। प्रतिकूलताको सामना गर्न आवश्यक आँटको कमी पनि छैन, तर परिणाम निकाल्ने सुझबुझ र सामर्थ्य चाहीँ व्यवहारमा नै देखिनु अपरिहार्य छ’, उनले सुझाव दिएका छन्। पर्यटन मन्त्रालयमा अनेकन् एम्बुसहरू थापिएको स्मरण गराउँदै थापाले माफिया र स्वार्थ समूहका घेराबन्दीलाई छिचोलेर उदाहरणीय काम गर्न शुभकामना समेत दिएका छन्।
बुधबार पदभार ग्रहण गरेका योगेशले सरकारले ल्याएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई पूरा गर्न लागिपर्ने र ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाएर नेपाललाई विश्वकै आकर्षक पर्यटक गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।
प्रकाशित: १६ श्रावण २०७६ १२:३२ बिहीबार