राजनीति

जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिने व्यवस्था गर्न कांग्रेसको प्रस्ताव

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। बिहीबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा कांग्रेस सांसद कँडेलले ज्येष्ठ नागरिकको सम्पत्तिमाथि सन्तानले हक दावी गर्ने कानुनी व्यवस्था पनि खारेज गर्नुपर्ने माग गरेका छन्।

जेष्ठ नागरिकसम्बन्धि विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उहाँले आफ्नो खुट्टामा आफै उभिने बनाउन पनि ज्येष्ठ नागरिकको सम्पत्ति माथि सन्तानले हक दावी गर्न पाउने कानुनी व्यवस्था खारेज गर्न उपयुक्त हुने तर्क गरेका छन्। सांसद कँडेलले युरोपतिर पनि ज्येष्ठ नागरिकको सम्पत्तिमाथि उसको सन्तानले हक दावी गर्ने कानुनी व्यवस्था नरहेको पनि स्मरण गराए।

नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पैतृक सम्पत्तिमा भने आफ्ना सन्तानले हक दावी गर्न पाउनुपर्ने बताए। उनले ज्येष्ठ नागरिकले आफूले आर्जन गरेको सम्पत्ति भने आफूलाई चाहेको व्यक्ति वा संस्थालाई दिन उपयुक्त हुने पनि बताए।

सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले असामान्य अवस्थामा रहेका ज्येष्ठ नागरिकको पालनपोषण गर्नेलाई सम्बन्धित स्थानीय तहको सहमतिमा उनको सम्पत्ति दिन सकिने कानुनी व्यवस्था गर्न उपयुक्त हुने तर्क गरे। सांसद पाण्डेले स्थानीय तहले असामान्य अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई पालनपोषण गर्नेलाई उनीहरुको सम्पत्तिको हकदावी गर्ने अधिकार दिनुपर्ने बताए।

विधेयकमा ज्येष्ठ नागरिकलाई कम्तिमा ६ महिना पालनपोषण गर्नेले उनको सम्पत्तिमाथि हक दावी गर्न पाउनेपर्ने प्रस्ताव गरिएको छ। त्यसमा सांसद पाण्डेको पनि असहमति छ। उनले आफ्नो सम्पत्ति कसलाई दिने भन्ने विषयमा ज्येष्ठ नागरिककै स्वविवेकीय अधिकार हुनुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने पनि बताए।

प्रकाशित: ९ श्रावण २०७६ ०८:२० बिहीबार

नेपाली_कांग्रेस ज्येष्ठ_नागरिक सम्पत्ति