राजनीति

ट्रम्पलाई सम्झिँदै गगनले भनेः भारतीय बाँधले तराई डुब्यो, योपटक हामीले हल खोज्नैपर्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबानको हल खोज्ने बेला आएको बताएका छन्। देशभर साउन भदौमा निम्तिने विपदको तालिका बदल्न यसपटक संकल्प गर्नैपर्ने र सरकारले पहलकदमी लिनुपर्ने उनको भनाई छ।

धेरै वर्षदेखि भारतीय बाँधले तराईमा डुबान भएको कुरा भन्दै आए पनि हल गर्नका लागि सरकार अग्रसर नभएको भन्दै उनले ध्यानाकर्षण गराए। ‘सीमा पारी बाँध बाधियो, त्यो बाँधका कारणले गर्दा डुबानमा पर्यो। प्रत्येक वर्ष हामी भन्छौं’, बुधबार प्रतिनिधिसभामा बोल्दै उनले भने, ‘यो पटक भने संकल्प गरौं। सरकारले यसमा पहल कदमी गरोस्, सिंगो संसद यो कुरामा एक ठाउँमा उभिनुपर्छ र यो विषयको हल योपटक हामीले खोज्नैपर्छ।’ 

नेता थापाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जलवायु परिवर्तन विज्ञानसम्मत नभएको भन्ने अधिकार रहेको तर जलवायु परिवर्तन आफूहरुको चासोको विषय रहनुपर्नेमा ध्यानाकर्षण गराए।

गगनको सम्बोधनः 

प्रत्येक वर्ष नयाँ वर्षमा पुरा नहुने सपना र संकल्पका साथ सुरु गर्छाैं र हाम्रो एउटा नियमित क्यालेन्डर छ। जेठ वा असारमा विकास खर्च भएन वा भयो भनेर रुन्छौं। साउनमा हामी सार्वजनिक शिक्षाको अवस्थाको बारेमा रुन्छौं। दशैंमा महंगीको बारेमा रुन्छौं भने प्रत्येक वर्षको साउन भदौं हामीले वर्खा बाढी पहिरोको पीडितहरुको रुनको निम्तिका लागि छुट्याएका छौं। यो तालिका बदल्ने हो भने हामीले काम गर्ने तरिका नबदली हुँदैन। गरिरहेका केही कामहरु छोड्नुपर्नेछ। नगरेका केही गर्नुपर्छ। 

के गर्ने भन्ने सम्बन्धमा अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जलवायु परिवर्तन विज्ञानसम्मत नभएको भन्ने सुविधा छ, हामीसँग छैन। जलवायु परिवर्तन हाम्रो चासोको विषय रहनुपर्छ। 

प्रकृतिसँग सहअस्तित्वलाई नजरअन्दाज गरेर मधेस पहाड उपत्यकामा हामीले जे विकास भनेर गर्यौं, त्यो विकास होइन विनाश हो, रोकिने बेला आएको छ। विकासको यो ढाँचालाई बदल्नै पर्छ। 

हामीले बनाएका पूर्वाधारहरुलाई बदल्नुपर्ने छ, भत्काउनुपर्ने छ। केही पूर्वाधार तत्काल बनाउनुपर्ने छ। 

सीमा पारी बाँध बाधियो, त्यो बाँधका कारणले गर्दा डुबानमा पर्यो। प्रत्येक वर्ष हामी भन्छौं। यो पटक भने संकल्प गरौं। सरकारले यसमा पहल कदमी गरोस्, सिंगो संसद यो कुरामा एक ठाउँमा उभिनुपर्छ र यो विषयको हल योपटक हामीले खोज्नैपर्छ। 

प्रकाशित: ८ श्रावण २०७६ ११:३९ बुधबार

नेपाली_कांग्रेस गगन_थापा तराई_डुबान भारतीय_बाँध डोनाल्ड_ट्रम्प