राजनीति

दक्षिण कोरियाको निजी क्षेत्रलाई नेपालमा लगानी गर्न मन्त्री विष्टको आग्रह

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा पनि रोजगारीको अवसर सृजना हुनेगरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह गरेका छन्। मन्त्री विष्टले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै अव नेपालमै रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न आग्रह गरेका हुन्।

मंगलबार दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा लगानीका लागि आवश्यक वातावरण बनेकोतर्फ पनि दक्षिण कोरियाली निजी क्षेत्रको ध्यानाकर्षण गराए। मन्त्री विष्टले दक्षिण कोरियाबाट फर्केका कामदारहरुको सिप र अनुभवलाई भरपुर उपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे। दक्षिण कोरियाले आफ्नै स्रोत र साधनको उपयोग गरेर समृद्धि हासिल गरेको उल्लेख गर्दै उनले त्यसबाट नेपालले धेरै पाठ सिक्न सक्ने पनि बताए।

विष्टले दक्षिण कोरिया आफ्नै मिहिनेतको बलमा समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै त्यसलाई ग्रहण गरेर नेपालले पनि अघि बढने योजना तय गरिरहेको पनि बताए। सरकारी तथ्यांक अनुसार हालसम्म ६३ हजार नेपाली कामदारले दक्षिण कोरियामा रोजगारी पाएका छन। मन्त्री विष्टले उनीहरुको ज्ञान, सीप र अनुभवले पनि नेपाललाई समृद्ध बनाउन सघाउन पु¥याउने विश्वास व्यक्त गरे।

प्रकाशित: ७ श्रावण २०७६ ०७:५३ मंगलबार

श्रम_रोजगार_तथा_सामाजिक_सुरक्षामन्त्री गोकर्ण_विष्ट दक्षिण_कोरिया लगानी