राजनीति

२३ कार्यकर्ता कांग्रेसबाट निष्कासन

सोलुखुम्बु – नेपाली कांग्रेसले स्थानीय, प्रदेशसभा तथा  प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गर्ने २३ जना नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । त्यसमध्ये २० जना सोलुखुम्बुका परेका छन् । कांग्रेसको केन्द्रीय अनुशासन समितिले सोमबार २०७४ सालमा सम्पन्न तीनवटै निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै सोलुखुम्बुका २० सहित रौतहट र दैलेख जिल्लाका २३ जना नेता–कार्यकर्तालाई निष्कासन गरेको हो ।

थुलुङ दुधकोसी गाउँपालिका अध्यक्षमा बागी उम्मेदवारी दिएका वीरबहादुर गुरुङ, उनका प्रस्तावक प्रणय राई र समर्थक सागर श्रेष्ठ तथा उपाध्यक्ष पदका उम्मेदवार प्रमिला राई निष्कासनमा परेका छन् । सोही गाउँपालिका ३ मा वडाध्यक्षका बागी उम्मेदवार कमलप्रसाद निरौला र उनका प्रस्तावक चक्रबहादुर केसी तथा सोही वडाका राजेश राई र सूर्य राईलाई पनि निष्कासन गरिएको छ । त्यस्तै लोखिमका सनकुमार तामाङ, नेचासल्यान गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रीलाल थापा मगर र उनका प्रस्तावक शिव प्रसाद आचार्य र समर्थक सन्तोष राई पनि निष्कासनमा परेका छन् ।

नेचासल्यान गाउँपालिकाका उपाध्यक्षका बागी उम्मेद्धार नारायण प्रसाद निरौला र उनका प्रस्तावक नरेन्द्र निरौला, सोताङ गाउँपालिका अध्यक्षका लागि बागी उम्मेदवारी दिएका दिपक खड्का र उनका प्रस्तावक तिलबहादुर बस्नेत तथा समर्थक चन्द्रकुमारी बस्नेत (खड्का) तथा सोताङ गाउँपालिका ३ का वडाध्यक्षका बागी उम्मेदवार सूर्यबहादुर बस्नेत र माप्य दूधकोसी गाउँपालिकाका कांग्रेस नेता लोकजित कार्कीलाई पनि कांग्रेसले निष्कासन गरेको छ । तत्कालीन कांग्रेस नेता दिपक खड्का हाल नेकपा प्रवेश गरिसकेका छन् भने नेचासल्यान गाउँपालिकाको अध्यक्ष पदमा बागी उम्मेदवार बनेका श्रीलाल थापाले पनि यसअघि नै पार्टी परित्याग गरिसकेका छन् ।

अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा पार्टीको आधिकारिक उमेदवारविरुद्ध बागी उमेदवार बनेका, निजका प्रस्तावक र समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उमेदवारी दिएका नेता तथा कार्यकर्तालाई पार्टीको विधानबमोजिम कारबाही गरिएको हो ।’

प्रकाशित: ७ श्रावण २०७६ ०३:३५ मंगलबार

नेपाली_कांग्रेस