राजनीति

‘याे काम हाम्रो सरकारले गर्नुपर्ने होइन’

राैतहट - राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले मधेसलाई प्राकृतिक विपदबाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने बताएका छन्।

प्रदेश २ को बाढी प्रभावित जिल्लाको निरीक्षणपछि रौतहटमा आयोजित छलफल कार्यक्रममा संसद महतोले चुरे दोहनकै कारण बर्सेनि मधेस बाढीको चपेटामा पर्दै आएको बताए। उनले भने, ‘चुरे विनाश गर्ने अमानवीय क्रियाकलाप तुरून्त बन्द हुनु जरूरी छ।’ चुरेलाई बचाउन स्थायीरूपमा समाधान खोज्नु आवश्यक छ भन्दै उनले चुरेमा बस्ती बसाउने र सडक निर्माण गर्ने कार्य रोक्नुपर्ने बताए।

उनले बाढी र डुबान नेपाल भारतको सामूहिक समस्या रहेको बताए। त्यसैले सामूहिक समस्या सामूहिकरूपमै निराकारण गर्नुपर्ने जिकिर गरे।

उनले भने, ‘मधेस बर्सेनि बाढी र डुबानको चपेटामा पर्नु सरकारको लापरबाही हाे, बकैया नदीको तटबन्ध बनाइयो त्यसपछि बेवारिसे छाडियो, त्यो भत्किसकेको छ तर, मर्मत संभारको कुनै चासो छैन, भत्किएको तटबन्ध भएर पानी गाउँमा नपसेर कहाँ पस्छ त? यसको मर्मत संभारको जिम्मेवारी सरकारको होइन?, के याे काम हाम्राे सरकारले गर्नुपर्ने हाेइन।'

उनले अहिले नदीहरूको जल सतह मात्रै घटेको र वर्षायाम बाँकीनै रहेकाले प्रदेश २ का मुख्य नदी वाग्मती, लालबकैया, खाँडो, कमलालगायत नदीका बाढी नियन्त्रणको उपाय यथाशीघ्र पहिल्याउनु आवश्यक रहेको जिकिर गरे।

प्रकाशित: ६ श्रावण २०७६ ०५:१० सोमबार

राष्ट्रिय_जनता_पार्टी राजेन्द्र_महतो