राजनीति

विप्लवका उपत्यका इन्चार्ज लामाको साथबाट चार सय जनाको चन्दा लिस्ट बरामद

काठमाडौं-  प्रहरीले विप्लव  नेतृत्वको नेकपामा उपत्यका ब्यूरो इन्चार्ज माइला लामाको साथबाट चार सय जनाको चन्दा लिस्ट बरामद गरेको छ। लामालाई आज विहान प्रहरीले काँडाघारीबाट पक्राउ गरेको थियो। उनी सहित रमेश तामाङ पनि पक्राउ परेका थिए।

लामाको साथबाट पाँच लाख रुपैँया देखि २० लाख सम्मको चन्दा लिस्ट विवरण प्ररहरीले वरामद गरेको हो।

विप्लव समूहले तयार पारेको चन्दा लिस्टमा साना उधोगीदेखि हाइड्रोपावर प्रोजेक्टसम्मको विवरण रहेको छ।

उनलाई प्रहरीले महानगरीय प्रहरी अपराध महाशखामा राखेर अनुसन्धान गरिरहेको छ। लामा तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेदेखि नै भूमिगत रहेका थिए। माओवादी विभाजनसँगै मोहन वैद्य समूहमा लागेका उनी नेत्र विक्रम चन्दले एकीकृत जनविद्रो गर्ने भन्दै अर्को पार्टी बनाएपछि चन्दसँगै लागेका थिए।

गीतकार तथा संगीतकार समेत रहेका लामा पहिलो संविधान सभामा काठमाडौंबाट झिनो मतले पराजित भएका थिए। उनी जनयुद्धको क्रममा बम विस्फोटमा परेर घाइते समेत भएका थिए। जनयुद्धकै समयमा जेल परेका लामामा विस्फोटमा परेपछि आँखा कम देख्ने र कान कम सुन्ने समस्या छ।

प्रकाशित: ५ श्रावण २०७६ ०८:१० आइतबार

माइला_लामा विप्लव पक्राउ चन्दा