राजनीति

साना दलले संयुक्त आन्दोलन गर्ने

काठमाडौं– मुलुकको धर्म र संस्कृतिको संरक्षणका लागि सरकारलाई दबाब दिन विभिन्न साना राजनीतिक दलहरूले संयुक्त आन्दोलन गर्ने भएका छन्।

वाम–प्रजातान्त्रिक दुवै धारको राजनीति गर्दै आएका साना राजनीतिक दलहरूले मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दबाब रोक्न सरकारसँग माग गर्दै शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाह्य हस्तक्षेपलाई रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको नेकपा (माले) का महासचिव सिपी मैनालीले जानकारी दिए।

‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाम दिइएको सो समूहमा मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (वीपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्चलगायतका ९ राजनीतिक दलहरू आबद्ध छन्।
देशलाई आन्तरिक तथा बाह्य हस्तक्षेप हुन नदिन सरकारलाई दबाब दिन पनि आफूहरूले संयुक्त आन्दोलन सुरु गरेको पनि नेकपा मालेका महासचिव मैनालीको भनाइ छ।

नेपाली कांग्रेस (वीपी)का उपसभापति झलक वाग्लेले संघीयताको नाममा मुलुकको पहिचान मेटाउने खालका सबै गतिविधि बन्द गराउन सरकारलाई दबाब दिन आफूहरू संयुक्त आन्दोलनमा होमिएको बताए। उनले नागरिकता जथाभाबी वितरण गरिएकाले त्यसको छानबिनका लागि न्यायिक आयोग तत्काल गठन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

सो समूहले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा उद्धार गर्न सरकार गम्भीर नभएको भन्दै आक्रोश पनि व्यक्त गरेको छ।

प्रकाशित: ४ श्रावण २०७६ ०९:२० शनिबार

साना_दल संयुक्त आन्दोलन