राजनीति

ओली–गौतम सम्बन्ध नजिकिँदै

टपेन्द्र कार्की

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमको सम्बन्ध नजिकिन थालेको छ। गत पुुुसमा सम्पन्न स्थायी कमिटीको बैठकमा गौतमले फरक मत राखेपछि बिग्रेको सम्बन्ध बिस्तारै सुधार हुँदै आएको हो। गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए। ‘असार २८ मा गौतमको जन्मदिन रहेछ, त्यसदिन प्रधानमन्त्रीज्यूले उहाँको जन्मदिन सँगै मनाउने इच्छा व्यक्त गर्नुभयो र मिठाई बाँडेर जन्मदिन मनाइएको थियो,’ बालुवाटार स्रोतले भन्यो।

पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सचिवालय सदस्यसमेत रहेका गौतमसँग प्रधानमन्त्री ओलीले निरन्तर संवाद गरिरहेका छन्। केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँटलाई अघि बढाउँदा पनि ओलीले गौतमसँग छलफल गरेका थिए। सुटुक्कै बालुवाटार पुग्ने गरेका गौतमसँग ओलीले पूर्वएमालेको भागमा परेका विभागीय प्रमुखहरूको जिम्मेवारीबारे छलफल गरिरहेका छन्।

असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए।

तत्कालीन एमालेको भागमा परेको संगठन विभाग, स्कुल विभाग, विदेश विभाग र नीति तथा प्रतिष्ठान विभागको प्रमुख कसलाई बनाउने भन्ने विषयमा गरिएको निरन्तर छलफलमा दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल) गौतमलाई संगठन विभाग प्रमुख बनाउन तयार भएका छन्। बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केही सचिवालय सदस्यको बैठकले गौतमलाई संगठन विभागको जिम्मेवारी दिने सहमति गरेको छ।

यो प्रस्ताव आइतबार बस्ने सचिवालय बैठकमा राखिने स्रोतले जनाएको छ। स्कुल विभागमा अर्का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पठाइने र पार्टीको तेस्रो वरियतामा रहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश विभागको जिम्मेवारी दिइने स्रोतले बताएको छ। स्रोतका अनुसार नीति तथा प्रतिष्ठान विभागको जिम्मेवारी भने झलनाथ खनाललाई दिइनेछ। एकीकरणपछि तय भएको नेकपाको ३२ केन्द्रीय विभागमध्ये १८ वटा पूर्वएमालेको भागमा छ भने बाँकी १४ विभाग पूर्वमाओवादी केन्द्रको नाममा भागबन्डा गरिएको छ।

स्रोतका अनुसार पूर्वमाओवादीको भागमा आर्थिक र प्रचार विभाग परेको छ। हाल पार्टीका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठलाई प्रचार वा आर्थिक विभागमध्ये एक दिने सम्भावना रहेको छ। निरन्तरको संवादपछि दुई अध्यक्षले जिल्लाका इन्चार्ज र सहइन्चार्ज टुंग्याएको भए पनि त्यसलाई बाहिर ल्याएका छैनन्। पूर्वएमालेको भागमा परेको ४७ जिल्ला र पूर्व माओवादीको भागमा ३० जिल्ला परेका छन्। सुरुमा पूर्वमाओवादीलाई २७ जिल्ला र पूर्व एमालेले ५० जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी लिने सहमति भए पनि पछि अध्यक्ष दाहालको जोडमा तीन जिल्ला बढाइएको हो।

नेकपामा चार सय ४१ केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्ज, सहइन्चार्ज, केन्द्रीय विभाग, प्रतिष्ठान, प्रवास, मोर्चा संगठनमा जिम्मेवारी दिने गरी छलफल भइरहेको छ। साउन ५ अगावै केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय आयोग, प्रवास कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटी र विशेष प्रदेश कमिटीको एकीकरणमा पनि सहमति जुटाउने गरी ओली र प्रचण्डबीच छलफल भइरहेको छ। दुई अध्यक्षले कार्य–विभाजनबारे वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरिरहेका छन्। ओली, दाहाल, नेपालबीच तत्कालीन एमाले र माओवादीका इन्चार्जहरूलाई नै पुनः इन्चार्ज र सहइन्चार्ज दिने सहमति भएको थियो। यस्तो हुँदा सांसद तथा मन्त्रीहरूले पनि पार्टीमा कार्यकारी जिम्मेवारी पाउने भएका।

 

प्रकाशित: ४ श्रावण २०७६ ०२:३२ शनिबार

नेपाल_कम्युनिस्ट_पार्टी केपी_शर्मा_ओली वामदेव_गौतम