राजनीति

बुद्धको मूर्ति तोडफोड घटनाको कांग्रेसद्वारा छानविन माग

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन गर्न माग गरेको छ। 

कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार विज्ञप्तिमार्फत रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका बुद्धको मूर्तिहरु तोडफोड गरेको घटनाप्रति ध्यानाकर्षण जनाउँदै यो धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको उल्लेख गरेका छन्। 

‘विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो’, उनले भनेका छन्, ‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ।’ 

कांग्रेसले घटनाको सत्यतथ्य छानविन गरी संलग्न दोषीलाई यथाशीघ्र कानूनी कारवाही गर्न पनि माग गरेको छ।

प्रकाशित: २ श्रावण २०७६ ०९:४४ बिहीबार

नेपाली_कांग्रेस गौतम_बुद्ध मूर्ति_तोडफोड छानविन