राजनीति

संसदीय समितिको बैठक स्थगित गर्न माग

काठमाडौं - संसद् स्थगित भएपछि समिति बैठक पनि स्थगित गर्न कांग्रेसले माग गरेको छ । राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका हुन् ।

बाढी पीडितको क्षतिबारे संसदमा छलफल हुनुपर्नेमा त्यसमा छलफल हुन नदिई स्थगित गरी सांसद जिल्ला जानुपर्ने भनेपछि अब समितिमा अरु विषयमा किन छलफल गर्ने भन्दै कांग्रेस सांसद दिलेन्द्र बडुले स्थगित गर्न माग गरे । त्यसपछि कांग्रेसका डिला संग्रौला र दिव्यमणि राजभण्डारीले पनि बाढीपहिरो र डुबान भएका बेला गृहमन्त्री गृहसचिव, प्रहरी महानीरिक्षकलाई समितिमा बोलाएर होल्ड गर्न नहुने भन्दै समिति बैठक स्थगित गर्नुपर्ने बताए । सभामुखले नै सूचना जारी गर्दै सांसदहरु प्रभावित क्षेत्रमा जानुपर्ने बताएका बेला पीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्नेमा समितिको बैठक बोलाइएको उनीहरूको भनाई थियो । तर समिति सभापति शशी श्रेष्ठले गृहमन्त्री, गृहसचिव, प्रहरी महानीरिक्षकसँग सल्लाह गरेर मात्र बैठक बोलाइएको बताइन् ।

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयकमाथि समितिले दुई दिनदेखि छलफल गरिरहेको छ । यो विधेयक छिटो पारित नगरे काम कारबाहीमा असर पर्ने भएका कारण समितिले यो विधेयकलाई छिटो पारित गर्न लागेको छ । समितिको बैठक बुधबार पनि बोलाइएको छ । कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले जनता पीडामा रहेका बेला राहत तथा उद्धारमा सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने बैठक स्थगित गर्न माग गरे । कांग्रेस सांसद संग्रौलाले एक हप्ता बैठक स्थगित गर्न माग गरिन् ।

प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने उनले बताइन् । नेमकिपाका प्रेम सुवालले पनि सभामुखले सुचना मै जिल्ला जानुपर्ने कुरा उल्लेख भएकाले त्यसबारे समितिले ध्यान दिनुपर्ने बताए । तर सत्तारुढ नेकपाका सांसद झपट रावलले भने कानुन निर्माणको काम रोक्न नहुने दाबी गर्दै समितिमा उपस्थिति हुनेको हाजिरी पनि सार्वजनिक गर्न माग गरे ।

प्रकाशित: १ श्रावण २०७६ ०२:२५ बुधबार

संसदीय_समिति बैठक