राजनीति

देशभरका अवरुद्ध विद्युत सेवा भोलिसम्ममा सुचारु हुनेः मन्त्री पुन

काठमाडौं– सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरका विद्युत सेवा भोलि (श्रावण–१ गते) सम्ममा सूचारु गराउने प्रतिवद्धता जनाएको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा भोलीसम्म सबै ठाउँमा सूचारु गराउने गरी कामलाई अघि बढाइएको जानकारी दिएका छन्। उनले कुलेखानी जलविद्युत आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए।

बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुन पुगेको छ। मन्त्री पुनले ती सबै समस्या भोलिसम्ममा समाधान हुने गरी काम भईरहेको बताए।

मन्त्री पुनले बाढी र डुबान हुन नदिन सरकारले नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए। नदी नियन्त्रण आपत्तकालिन कार्यका लागि नदी नियन्त्रणका क्षेत्रका काम गर्ने १५ वटा आयोजनाहरुलाई तयारी अवस्था राखिएको मन्त्री पुनको भनाई छ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रानी–जमरा–कुलरिया सिंचाई आयोजनाको हालसम्म ८ किलो मिटर मूल नहर निर्माण कार्य सम्पन्न गरिएको पनि जनाएको छ। रासस

प्रकाशित: ३१ असार २०७६ ११:३५ मंगलबार

बाढी_पहिरो डुबान विद्युत_सेवा सुचारू