राजनीति

'विषादी प्रकरण’लाई लिएर सरकारको आलोचना नगर्न कांग्रेसलाई मन्त्री यादवकाे चेतावनी

फाइल फाेटाे

काठमाडाैं–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले 'विषादी प्रकरण’लाई लिएर सरकारको आलोचना नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चेतावनी दिएका छन्।

मन्त्री यादवले भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने आँट गरेको सरकारलाई काँग्रेसले त्यत्तिकै आलोचना गरेको भन्दै आपत्ति पनि जनाए। कांग्रेसले 'आफूले कत्ति न जनतालाई अर्गानिक खुवाएको जस्तो पारामा' सरकारलाई आलोचना गरेको मन्त्री यादवको भनाइ छ। शुक्रबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री यादवले यथार्थमा आधारित भएर सरकारको आलोचना गर्न पनि प्रमुख प्रतिपक्ष दल काँग्रेसलाई सचेत गराए। विषादी प्रकरणमा कांग्रेसले आफ्नो इज्जत पनि नरहने गरी सरकारको आलोचना गरेको मन्त्री यादवको दावी छ।

मन्त्री यादवले व्यापारीहरुलाई पनि वस्तुको मूल्य जथाभावी नबढाउन आग्रह गरे। उनले उत्पादन वृद्धिमा जोड दिएर व्यापार गर्न पनि निजी क्षेत्रका व्यवसायीहरुको ध्यानाकर्षण गराए। सरकार निजी क्षेत्रसँग मिलेर अघि बढन तयार रहेको पनि मन्त्री यादवले स्पष्ट पारे।

प्रकाशित: २७ असार २०७६ १०:०९ शुक्रबार

उद्योग वाणिज्य_तथा_आपूर्तिमन्त्री मात्रृकाप्रसाद_यादव विषादी