राजनीति

सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गर्न माग

फाइल तस्बिर ।

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सांसद बडुले सरकारी सेवामा काम गर्ने महिला कर्मचारीको पीडालाई सम्बोधन गर्न पनि सरकारले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्र स्थापना ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै उनले कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकारबाट वञ्चित गर्न नहुने तर्फ पनि सरकारलाई सचेत गराए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झपट रावलले कर्मचारीहरूको सेवासुविधा उपलब्ध गराउने समितिको नेतृत्व कर्मचारी संगठनहरूलाई दिने व्यवस्था नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

न्यायको दृष्टिकोणले पनि कर्मचारीहरुको सेवा, सुविधा दिने समितिको नेतृत्व उनीहरूलाई दिन नमिल्ने उनको तर्क थियो। सांसद रावलले कर्मचारीहरूलाई अझै जवाफदेही बनाउने गरी कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरे।

विधेयकमा कर्मचारीहरूको सेवा, सुविधा उपलब्ध गराउने व्यवस्था गर्न एक समिति गठन गर्ने प्रस्ताव गरिएको छ। तर, त्यसको नेतृत्व कर्मचारी संगठनहरूलाई दिनु न्यायका दृष्टिले पनि उपयुक्त नहुने सांसद रावलको तर्क छ।

प्रकाशित: २४ असार २०७६ ०८:०९ मंगलबार

नेपाली_कांग्रेस दीलेन्द्रप्रसाद_बडू शिशु_स्याहार_केन्द्र