राजनीति

एआइजीलाई प्रदेश प्रहरी प्रमुखः शर्मा

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न र त्यसमा नियुक्ति गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकनै उपयुक्त हुने तर्क पनि गरे।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले प्रदेशका अन्य प्रहरी दर्जाको नियुक्ति प्रदेश प्रहरीले गर्न पाउनुपर्ने तर्क पनि गरे। संघीयतामा मुलुक गएकाले प्रमुखबाहेकका प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने उनको तर्क छ।

कांग्रेस नेता दीलेन्द्रप्रसाद बडुले भने प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक राख्ने सरकारको प्रस्तावमा सहमति जनाएका थिए। उनले प्रदेश प्रमुखबाहेकका अन्य पदहरूमा भने प्रदेश प्रहरीले नियुक्ति गर्ने कानुनी व्यवस्था गर्नुपर्ने माग पनि सरकारसँग गरे।

समितिमा पेस गरिएको विधेयकमा भने प्रहरी नायव महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रावधान राखिएको छ।

प्रकाशित: २३ असार २०७६ ०६:५६ सोमबार

नेकपा जनार्दन_शर्मा एआइजी प्रदेश_प्रहरी