राजनीति

बिषादी परीक्षण भारतको दबाबमा रोकिएको होइन : मन्त्री ज्ञवाली

रुपन्देही– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतबाट ल्याइने तरकारीको बिषादी परीक्षण भारतको दबाबका कारण नरोकेको स्पष्ट पारेका छन्। उनले सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगित गरेको बताए। ‘सरकार पछि हट्यो भन्ने ढंगले व्याख्या भएको छ, त्यस्तो होइन’ ,उनले भने, ‘तयारी गरेपछि भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण हुन्छ।’  

नेकपा बुटवल उपमहानगर कमिटीले शनिबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ६ महिनाभित्र तयारीका सबै काम सकेर विषादी परीक्षणलाई निरन्तरता दिने बताए। परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको पनि दावी गरे। उनले पहिलो वर्षमा संविधानको पूर्ण कार्यान्वयन र संघीयतालाई स्थापित गर्न सफल भएको बताए।

मन्त्री ज्ञवालीले वर्तमान सरकारको मुख्य ‘मिसन’ मुलुकको समृद्धि भएको बताउँदै अहिलेसम्म भएका सबै खाले आन्दोलनबाट प्राप्त अधिकारको जगमा उभिएर आर्थिक समृद्धिमा देश अघि बढेको दाबी गरे। उनले जनताका अपेक्षा अपार रहेको बताउँदै वर्तमान सरकारलाई जनताको अपार समर्थन प्राप्त भएजस्तै सरकारले पनि जनताका अपेक्षा पूरा गर्ने प्रतिबद्ध व्यक्त गरे। वर्तमान सरकारले देशको विकास र समृद्धिको बहसलाई अघि बढाएको बताउँदै उनले सरकारमा रहेका कमी कमजोरीलाई सुधार गरेर अघि बढ्ने बताए। 

मन्त्री ज्ञवालीले सरकारको काम गर्ने रफ्तारमा कर्मचारी संयन्त्रको ढिला सुस्ती समस्याको रुपमा रहेको बताउँदै कार्यान्वयन गर्ने संयन्त्रमा रहेको समस्याले अपेक्षाकृत उपलब्धी प्राप्त हुन नसकेको बताए। उनले सरकार सही बाटोबाट अघि बढी रहेको बताउँदै वर्तमान सरकार र नेकपाको नेतृत्वले ऐतिहासिक अभिभारा पूरा गरेरै छाड्नेसमेत प्रतिबद्धता व्यक्त गरे। उनले पार्टी एकीकरण टुंगिन लागेको र नेताहरुको कार्यविभाजन बाँकी रहेको भन्दै यसलाई पनि छिटै टुंगोमा पु¥याइने बताए।

प्रकाशित: २१ असार २०७६ १५:०९ शनिबार

बिषादी_परीक्षण भारत प्रदीपकुमार_ज्ञवाली दबाब सरकार