काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारी गरिरहेको बताएका छन्। बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले विकास निर्माणका काममा हुने ढिलाइलाई रोक्न सरकार आफैंले निर्माण कम्पनी स्थापना गर्ने तयारी गर्नुपरेको पनि स्पष्ट पारे।
उनले एक हप्ताभित्र सो सम्बन्धमा ठोस निर्णय लिने पनि समितिलाई जानकारी दिए। मन्त्री महासेठले सरकारले आफ्नै निर्माण कम्पनी बनाए पनि निजी क्षेत्रको कम्पनीलाई प्रोत्साहन गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले आफूले निर्माण गरेका सडकलगायतका पूर्वाधारको मर्मतसम्भारको जिम्मेवारी पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीहरूलाई दिने नीतिगत निर्णय लिइएको पनि बताए।
मन्त्री महासेठले काठमाडौंमा विद्युतीय सवारी साधन सञ्चालनका लागि कुनै पनि बेला रुट परमिट दिन सरकार तयार रहेको पनि बताए। उनले काठमाडौंलाई प्रदूषणमुक्त बनाउन पनि विद्युतीय सवारीसाधन सञ्चालन गर्न उपयुक्त हुने बताए। विद्युतीय बस सञ्चालनका लागि आउनेहरूलाई तत्काल उनीहरूले मागेकै रुटमा परमिट दिन यातायात व्यवस्था विभागलाई निर्देशन दिएको पनि स्पष्ट पारे। बैठकमा समितिका सदस्यहरूले काठमाडौंको सडकको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री महासेठको चर्को आलोचना गरेका थिए।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले १० वर्षअघि आफू नेतृत्वको सरकारले अघि सारेको काठमाडौं–धार्के सुरुङमार्ग निर्माण परियोजना अझै अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। उनले सो परियोजनाको काम तत्काल अघि बढाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
प्रकाशित: १९ असार २०७६ ११:३८ बिहीबार