राजनीति

तीन मुख्यमन्त्री विदेश भ्रमणमा

काठमाडौं – प्रदेश १, ३ र ५ का मुख्यमन्त्री विदेश भ्रमणमा रहेका छन्। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अमेरिका, प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चीन भ्रमणमा रहेका छन्। मुख्यमन्त्री राई अमेरिकाको बाल्टिमोरमा असार २० देखि २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिको रूपमा असार १६ गते अमेरिका गएका हुन्।

प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीकृतबमोजिम मुख्यमन्त्री राई अमेरिका प्रस्थान गरेको मुख्यमन्त्रीका प्रेस संयोजक धु्रव सुवेदीले बताए। अमेरिकास्थित एसोसियसन अफ् नेपालिज इन दि अमेरिका, एसोसियसन अफ् नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्तर्राष्ट्रिय साहित्य समाज र बाल्टिमोर एसोसियसन अफ् नेप्लिज इन अमेरिकाले संयुक्तरूपमा सो कार्यक्रम आयोजना गरेका हुन्।

त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल ५ दिने भ्रमणमा चीनमा रहेका छन्। प्रदेश ३ सँग भगिनी सम्बन्ध कायम भएको चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा उनको नेतृत्वमा मंगलबार ७ जनाको टोली चीन गएको हो। चीनको गान्सु प्रान्तको लान्झाउ सहरमा बुधबारदेखि शनिबारसम्म आयोजना हुने विविध कार्यक्रममा मुख्यमन्त्री पौडेलले सम्बोधन गर्ने मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए। ‘तालिकाअनुसार मुख्यमन्त्री पौडेल डेभलपमेन्ट फोरम एन्ड कोरिडोर लजिस्टिक इन्डस्ट्री प्रोमोसन कार्यक्रममा सहभागी हुनेछन्। पौडेलले गान्सु प्रान्तका गभर्नर ताङ रेन्जिअनसँग पनि भेट गर्ने कार्यक्रम छ।

त्यस्तै, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चीन भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारीपछि मुख्यमन्त्री पोखरेल र गभर्नर लीले दुई प्रदेशबीच उच्चस्तरको भ्रमण आदानप्रदान बढाउँदै समृद्धिको यात्रामा एकआपसमा सघाउ पु¥याउदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए।

प्रकाशित: १९ असार २०७६ ०१:४५ बिहीबार

शेरधन_राई डोरमणी_पौडेल शंकर_पोखरेल विदेश_भ्रमण