राजनीति

सामाजिक सञ्जालसम्बन्धी प्रावधान खारेजीको माग

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामाले सरकारले ल्याएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समावेश गरिएका सामाजिक सञ्जालसम्बन्धी सबै प्रावधान खारेज गर्न माग गरेका छन्।

बुधबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले संविधान प्रतिकूल हुने गरी आएको सामाजिक सञ्जालसम्बन्धी सबै प्रावधान खारेज गर्न सरकारसँग माग गरे।

समितिको बैठकमा सांसद लामाले सामाजिक सञ्जालमार्फत् अभिव्यक्ति स्वतन्त्रतालाई प्रतिबन्ध लगाउने गरी आएको सो विधेयक मान्य नहुने चेतावनी दिँदै फरक मत पनि पेस गरे। सांसद लामाले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई समेत हनन् हुने गरी संविधानविरोधी सो विधेयक मान्य नहुने चेतावनी पनि दिए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भने सामाजिक सञ्जालको दुरुपयोग हुने गरेको उल्लेख गर्दै त्यसलाई सरकारले नियन्त्रण गरेर जान उपयुक्त हुने धारणा राखे। बैठकमा समितिका सदस्यहरूले विवादमा तानिएको सो विधेयक व्यापक परामर्श गरेर मात्रै पारित गर्नुपर्ने धारणा पनि राखेका थिए।

प्रकाशित: १८ असार २०७६ १२:०३ बुधबार

नेपाली_कांग्रेस ‘सूचना_प्रविधि_विधेयक