राजनीति

काठमाडाैं सफाइ गर्न प्रदेश सरकारले १२ वटा ब्रुमर उपलब्ध गराउने

फाइल तस्बिर

काठमाडौं – प्रदेश ३ सरकारले काठमाडौं उपत्यकाको सफाइका लागि १२ वटा धूलो उठाउने ब्रुमर तत्काल उपलब्ध गराउने घोषणा गरेको छ। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई सफा सहरको रुपमा विकास गर्न केही समयभित्रै ब्रुमर उपलब्ध गराउने घोषणा गरेका हुन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा हुने सडकको भीडलाई उचित व्यवस्थापन गर्न १० वटा आकासे पुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि बताए। काठमाडौंका जनताले प्रदेशको राजधानी कहाँ भनी खोज्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले उनीहरूको घरघरमा सरकारको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उनले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि ३० करोड रुपैयाँ हस्तान्तरण पनि गरेका थिए। सर्वसाधरणलाई सस्तोमा यातायात सेवा उपलब्ध गराउने उद्देश्यका साथ काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासँगको सहकार्यमा काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने कामलाई अघि बढाइएको पनि मुख्यमन्त्री पौडेलको भनाइ छ।  
 

प्रकाशित: १६ असार २०७६ ११:५८ सोमबार

प्रदेश_३ काठमाडौं_उपत्यका ब्रुमर डोरमणि_पौडेल