राजनीति

ओली–प्रचण्डलाई सचेत गराउँदै सिटौलाले भनेः बाटो नबिराउनुस्, उग्रवादी धार सल्बलाउँदै छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपालको राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धारहरु विकसित हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले राज्य सञ्चालन पद्धतिमाथि प्रहार गरि राजनीतिलाई पछाडि फर्काउनेहरु सक्रिय हुन थालेको बताए। राजनीतिक दलबीच राष्ट्रिय एजेण्डामा बृहत सहमति हुन नसक्दा व्यवस्थामाथि नै चुनौती दिनेहरु बलियो भएर अनेक कोणबाट प्रहार हुन थालेको टिप्पणी गरे। सरकार गठनको २ बर्षमा जनताको आकाक्षा सम्बोधन हुन नसक्दा तथा बहुदलीय लोकतन्त्रका मान्यतालाई स्थापित गर्न नसकेका कारण राज्य संचालन पद्धतिमाथि नै प्रश्न उठ्न थालेको उनको तर्क थियो।

उनले भने, ‘सरकारमथि मात्रै होइन पद्धति माथि नै ठूलो प्रश्न उठ्न थालेको छ। राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धारहरु विकसित हुन थालेका छन्। चाहे दक्षिणपन्थी कोणबाट होस् चाहे उग्रवामपन्थी कोणबाट होस्। फेरि पनि उठ्न थालेका छन्। नेपालको राजनीतिमा सबैभन्दा चिन्ताको विषय यो हो।’

नेकपाले चाहेमा सरकारले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान सक्ने स्थिति र शक्ति भए पनि वर्तमान अवस्थामा सरकार बाटो विराएजस्तो अवस्थामा देखिएको उल्लेख गर्दे उनले बाटो नबिराउन सचेत गराए। कांग्रेसले विरोधका लागि विरोध गर्ने नभई सकारात्मक प्रतिक्षीको भूमिका निर्वाह गर्ने भन्दै उनले नेकपालाई आफ्नै पार्टीबाट अप्ठ्यारो हुने बाहेक कांग्रेसले अप्ठ्यारो नपार्ने विश्वास दिलाए। उनले भने, ‘तपाईको आफ्नै पार्टीमा हुने खैलाबैला बाहेक अन्य खैलाबैलाले असर पार्छ जस्तो लाग्दैन मलाई।’

उनले सबै वर्ग र क्षेत्रका समस्या सम्बोधन गर्ने गरी संविधानले निदृष्ट गरेको लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर काम गर्न सरकारलाई सुझाव दिए।

प्रकाशित: १४ असार २०७६ १३:५९ शनिबार

नेपाली_कांग्रेस कृष्ण_प्रसाद_सिटौला उग्रवादी_धार ओली–प्रचण्ड