राजनीति

जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग कांग्रेसले थाल्याे छलफल

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानमा संलग्न केन्द्रीय प्रतिनिधिहरूसँगको छलफल सुरु गरेको छ। कांग्रेसले पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यसहित जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल सुरु गरेको हो।

छलफल र अन्तक्र्रियाबाट प्राप्त सल्लाह सुझाव पार्टीको सुदृढीकरणका लागि आगामी रणनीति तय गर्न फलदायी हुने विश्वास पार्टी नेतृत्वले लिएको छ। पार्टी संगठनको सुदृढीकरणका लागि भन्दै कांग्रेसले वैशाख २५ देखि ज्येष्ठ २५ सम्म ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियन सञ्चालन गरेको थियो।

सो अभियानमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला गई एक महिनासम्म गरिएको कार्यक्रम, अन्तक्रिया र प्राप्त कार्यकर्ताको धारणाबारे प्रतिनिधिले नेतृत्वलाई जानकारी गराउनेछन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल तथा अन्तक्रियाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावहरूबाट पार्टीलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे।

राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधि सिन्धुली जिल्ला सभापति श्याम घिमिरेले स्थानीय कार्यकर्ताले पार्टीमा सैद्धान्तिक सुधारको अपेक्षा राखेको बताए। उनीहरूले विशेष गरेर वर्तमान सरकारका असफलताको प्रतिकार गर्दै राष्ट्रिय राजनीतिलाई बदल्ने काममा पार्टीको भूमिका खोजेको उनले बताए। त्यसै गरी पार्टीभित्रको अन्तर्घात र गुटबन्दीको अन्त्य, समयमा नै भातृसंगठनको अधिवेशनलगायत आन्तरिक सुधारको पनि अपेक्षा कार्यकर्ताले राखेको उनले बताए।

बिहीबारसम्म चल्ने छलफलमा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले जिल्लामा भएका गतिविधि, संठनात्मक अवस्था, एक महिने राष्ट्रिय जागरण अभियानअन्तर्गत भएका कार्यक्रम र त्यसबाट प्राप्त परिणामहरूका साथै त्यसले पार्टीलाई पार्ने वर्तमान र दूरगामी असरबारे नेतृत्वलाई जानकारी गराउनेछन्।

 

प्रकाशित: ११ असार २०७६ १०:३१ बुधबार

कांग्रेस जागरण_अभियान केन्द्रीय_प्रतिनिधि छलफल