राजनीति

खुला सीमाले लागुऔषध दुरुपयोग चुनौतीपूर्णः गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरुपयोग तथा ओसारपसार नेपालका लागि पनि चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लागुऔषध दुरुपयोग विश्वव्यापी समस्याको रूपमा रहेको बताएका हुन्।

लागुऔषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा सरकारका प्रयासहरू पर्याप्त नहुनु र खुला सिमानाका कारण यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतीपूर्ण रहेको उनको भनाइ छ। सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षितरूपमा विकास गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजनलाई वैज्ञानिक र स्रोतसाधन सम्पन्न पार्न नसकेको उनले स्वीकार गरे। लागुऔषध दुरुपयोग र अवैध कारोबार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकीय उपचारसँगै सामाजिक तथा मनौवैज्ञानिक समाधान पनि आवश्यक रहेको बताए।

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा विविध कार्यक्रम गरी साताव्यापी रूपमा मनाइएको छ। साताको अन्तिम दिन बुधबार गृहमन्त्रालयअन्तर्गतको मूल आयोजक समितिले विशेष कार्यक्रम गरेको हो। यस वर्ष नेपालमा ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो।
 

प्रकाशित: ११ असार २०७६ ०६:३६ बुधबार

लागुऔषध चुनौतीपूर्ण गृहमन्त्री रामबहादुर_थापा