राजनीति

भित्र गाउँसभा, बाहिर विरोधसभा

खोटाङ– वडागत बजेट सिलिङ नदिइएको भन्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको गाउँसभामा पुगेर नेकपाले बिरोध जनाएको छ। पाँचौं गाउँसभामार्फत सभाहलभित्र आर्थिक वर्ष २०७६÷०७७ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइरहँदा नेकपाका नेता तथा कार्यकर्ताले बाहिर बसेर बिरोध जनाएका हुन्। वडागत बजेट सिलिङ नदिइएको भन्दै नेकपाका खोटाङ सचिव रामप्रसाद दंगालको नेतृत्वमा गाउँपालिकाकै याङ्सोलाटारस्थित कार्यालय परिषरमा शान्तिपूर्ण बिरोध प्रदर्शन गरिएको नेकपाका सचिवालय सदस्य दिपक पौडेलले बताए। 

शान्तिपूर्ण बिरोध कार्यक्रमपछि आयोजित कोणसभालाई नेकपाका सचिव दंगाल, नेकपा नेता दिपक पाण्डे, चर्चबहादुर बिक, समाजबादी पार्टीका केशव कार्की लगायतले सम्बोधन गरेका थिए। बाहिर नेकपाका नेताले शान्तिपूर्ण बिरोध जनाइरहँदा गाउँसभाले नीति तथा कार्यक्रम एंवम विनियोजित बजेट प्रस्तुत गरेको छ। गाउँसभामा कुल ४१ करोड ५५ लाख २३ हजार बराबरको बजेट छलफलका लागि पेश गरिएको छ। गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले गाउँ कार्यपालिकाकै बैठकको निर्णय अनुशार सिलिङ नपठाइएको बताए। ‘असार १३ गतेसम्मका लागि सभा स्थगन गरिएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल सकेर बजेटका बिषयमा छलफल गरिन्छ। सिलिङको कुरा निहुँ मात्र हो।’ 

कांग्रेसको बहुमत रहेको गाउँसभामा नेकपाका जनप्रतिनिधिले वडागत बजेट सिलिङ दिएर मात्र गाउँसभा सुरु गर्न माग राखेका थिए। वडागत बजेट सिलिङ दिएर मात्र बजेट ल्याउन माग गर्दा सुनुवाई नभएको नेकपाकातर्फबाट निर्वाचित बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताए। ‘हामीले पहिल्यैदेखि वडालाई सिलिङ दिनुपर्ने माग गर्दै आएको थियौँ,’ वडाध्यक्ष राईले भने, ‘तर, हाम्रो मागलाई बेवास्ता गरियो। आवाज उठाउँदा हामीमाथि तरुण दल र प्रहरीकै बल प्रयोग गरियो।’ 
तरुण दलको आपत्ति 
यसैबीच, नेपाल तरुण दल क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २ ले नेकपाका नेता तथा कार्यकर्ताले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको गाउँसभा बिथोल्ने प्रयास गरेको भन्दै आपत्ति जनाएको छ। क्षेत्रीय सभापति सुरेश राईले मंगलबार साँझ बिज्ञप्ति निकाल्दै यस्ता क्रियाकलाप दोहोरिए प्रतिकार गर्ने चेतावनी दिएका छन्। 

प्रकाशित: १० असार २०७६ १५:४५ मंगलबार

स्थानीय_तह दिप्रुङ_चुईचुम्मा_गाउँपालिका नेकपा बिरोध गाउँसभा