राजनीति

आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्छः नेता  पौडेल

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने स्पष्ट पारेका छन्।

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भैरहेकोले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली हुनसक्ने बताएका हुन्। 

नेता पौडेलले पार्टी एकता गर्दानै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएको सुनाउँदै सोही सहमतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए। 

उनले भने, ‘हामी एकताको पक्षमा छौं। एकता रहरको लागि गरिएको होइन। त्यसैले विगतमा भएका सहमति इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्छ।’

उनले वर्तमान सरकार पाँच वर्षसम्मको लागि निर्वाचित भएकोले तत्काल स्थानीय, प्रदेश र संघमा सरकार फेरबदल हुने अवस्था नरहेको पनि जिकिर गरे। यद्यपी संघीय सरकार भने पार्टीको निर्णयका आधारमा फेरबदल गर्न सकिने उनले स्पष्ट पारे। 

सरकारको काम सुशासनको क्षेत्रमा अझै राम्रो हुनुपर्ने भनेर जनस्तरबाटै गुनासो आइरहेको सुनाउँदै त्यसप्रति सरकार गम्भिर बन्नुपर्ने उनको सुझाव थियो। भ्रष्टाचार न्यूनिकरणको लागि पनि त्यस्तै गम्भिर पहलकदमी चाल्नुपर्ने उनले बताए। 

पौडेलले गुठी विद्येयकलगायतका अन्य कुनैपनि विद्येयक खारेज नभएको सुनाउँदै तत्कालको लागि स्थगन् गरिएको पनि स्पष्ट पारे। 

सरकारको कामकारबाही अहिले नै मापन गर्न नसकिने बताउँदै कम्तिमा पनि बजेट कार्यान्वयन भएपछि मापन गर्न सकिने उनको भनाई छ।   

प्रकाशित: १० असार २०७६ १३:०८ मंगलबार

नेकपा आलोपालो_प्रधानमन्त्री सहमति देवेन्द्र_पौडेल