राजनीति

छुवाछुत उन्मुलनमा राज्य असफलः अध्यक्ष शर्मा

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले छुवाछुत उन्मुलनमा राज्य असफल भएको बताएका छन्। 

जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले शनिबार राजधानीमा गरेको अन्तरक्रियामा अध्यक्ष शर्माले छुवाछुत उन्मुलन सम्बन्धित नीतिगत तर्जुमामा राज्य असफल भएको बताए। उनले छुवाछुत सम्बन्धी विद्यमान ऐन प्रभावकारी र बलियो नभएको र देखाउनका लागि मात्रै ल्याइएको टिप्पणी गरे।

उनले भने, ‘अहिलेको प्रस्तुत छुवाछुत विरुद्धको ऐनबाट कोही त्रसित हुँदैन। त्यो ऐन हुनु नहुनुमा केही फरक छैन। त्यसैले अहिलेसम्मको हाम्रो डिजाइन फेलियर छ। कसरी छुवाछुत उन्मुलन गर्ने? किन भएन त यत्तिका बर्ष हुँदा? त्यसकारण कहीँ डिफेक्ट छ। डिजाइनको डिफेक्ट छ। कहीँ कार्यान्वयन गर्ने तरिकाको डिफेक्ट छ।’

अध्यक्ष शर्माले दलित समुदायलाई पनि आफ्नो हक अधिकारका लागि एग्रेसिप भएर अघि बढ्न सुझाव दिए।

कार्यक्रममा सहभागीहरुले चेतनाको विकासले मात्रै छुवाछुतको अन्त्य नहुने भन्दै नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले विशेष गरेर नयाँ पुस्ताहरुलाई दलित र गैरदलित हुन्छन् भन्ने नै जानकारी नगराई समतामुलक समाजको शिक्षा दिनुपर्ने धारणा राखे।

आयोगले छुवाछुत विरुद्धको अधिकारका बारेमा दलित समुदायका राष्ट्रिय कलाकार र खेलाडीहरुसँग अन्तरक्रिया गरेको हो।

प्रकाशित: ७ असार २०७६ ११:५२ शनिबार

मानवअधिकार_आयोग छुवाछुत_उन्मुलन राज्य