राजनीति

मेयर द्वारिकलाल चौधरीद्वारा फेरि क्षमायाचना

इटहरी– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले फेरि महिलाप्रति क्षमायाचना गरेका छन्। मेयर चौधरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन, ‘मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन्। म सदैव महिला दिदीबहिनीप्रति सम्मान गर्न चाहन्छु। तर, मैले बोलेका केही शब्दहरुले देश विदेशमा रहेका तमाम नेपाली आमा दिदीबहिनीको भावनामा चोट पर्न गएकोमा दुःख व्यक्त गर्दै क्षमा याचना गर्दछु।’

मेयर चौधरीले बुधबार इटहरी १६ र १७ नम्बर वडाले आयोजना गरेको विकृतिबिरुद्धको कार्यक्रममा महिलाको प्रतिष्ठामाथि आँच पुग्ने शब्द बोलेका थिए। मेयर चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इटहरीको समृद्धि र विकास महिला दिदीवहिनीहरुको समेत साथ सहयोग बिना सम्भव छैन।’

इटहरी उपमहानगरपालिका इटहरीको बेथिती, कुरिती तथा भ्रष्टाचारबिरुद्ध लडिरहेको जनाउँदै  समाजलाई अपाच्य हुने यौन गतिविधीहरुलाई नियन्त्रण गर्नु अहिले एक प्रमुख चुनौती भएको विज्ञप्तिमा उल्लेख छ। ‘इटहरीमा मौलाउँदो यौन धन्दालाईं नरोकि समुन्नत इटहरी निर्माणको परिकल्पना अपुरो हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

यसअघि मेयर चौधरीले पत्रकारमाथि दुव्र्यवहार र धम्की दिएको घटनामा दुई पटक दुःख व्यक्त गरेर विज्ञप्ति निकालि सकेका छन्। मेयर चौधरीले जेठ १२ गते र दोस्रो पटक २६ गते विज्ञप्ति निकालेका थिए।

प्रकाशित: ६ असार २०७६ १४:१४ शुक्रबार

इटहरी_उपमहानगरपालिका द्वारिकलाल_चौधरी क्षमायाचना