राजनीति

सूचना प्रविधि विधेयक पारित गर्न मन्त्री बाँस्कोटाको दबाब

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई दबाव दिएका छन्। सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा उक्त विधेयक तत्काल पारित गर्न समितिका सदस्यहरुलाई दबाब दिएका हुन्।

उनले सरोकार नै नभएको उक्त विधेयकसँग पत्रकारहरुलाई समितिका सदस्यहरुले जोड्ने गरेको भन्दै आपत्ति पनि जनाए। समितिको बैठकमा प्रेस स्वतन्त्रतामाथि हनन् हुने गरी उक्त विधेयक ल्याएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ।

मन्त्री बास्कोटाले भने यो विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई पत्रकारहरुसँग जोडेर नहेर्न पनि समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गरे। उनले २ महिना लगाएर छलफल गर्दा पनि सो विधेयकलाई टुंगोमा पु-याउन नसकेको भन्दै समितिप्रति असन्तुष्टि पनि व्यक्त गरे।

सहमतिको नाममा उक्त विधेयक छलफल गरिएको दुई महिना बित्दा पनि पारित हुन नसक्नु राम्रो कुरा होइन्,’ उनले भने। गलत चीजहरु छन भने त्यसमा पनि काफी छलफल गरिएको छ, विज्ञहरुसँग समेत छलफल गरिएको सो विधयेक पारित गर्न ढिलाई गरिनु हुन्न।’

मन्त्री बास्कोटाले सामाजिक संजालका कारण पीडितहरुको संख्या बढदै गएपछि त्यसलाई न्यूनिकरण गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारे।

प्रकाशित: ६ असार २०७६ ०६:४४ शुक्रबार

मिडिया_काउन्सिल गोकुल_बाँस्कोटा संसदीय_समिति