राजनीति

आँट गरौं, अहिलेको ब्यूरोक्रेसी संरचनालाई भत्काउँ : बाबुराम भट्टराई

काठमाडौं - पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हाम्रो कर्मचारीतन्त्रको संरचना विकासमुखी नभएको बताएका छन्।

शुक्रबारको संसद बैठकमा बोल्दै भट्टराईले कर्मचारी संयत्रले काम नगर्दा बजेट कार्यान्वयनमा समस्या आएउने गरेको आरोप लगाए। भट्टराईले राणाकालमा बनेको ब्युरोक्रेसी विकासमैत्री नभएको भन्दै अहिलेको कर्मचारी संयन्त्रलाई परिमार्जन गर्नुपर्ने बताए। 'अहिलेको कर्मचारीतन्त्रलाई भत्काएर नयाँ ढंगको कर्मचारी संरचना बनाउने आँट हामीले गर्नुपर्छ,' उनले भने, 'प्रक्रियामुखी कर्मचारी संरचनाले विकास हुन  सक्दैन।'

बजेटमा भ्रष्टाचार नियन्त्रण गर्ने कुनै संयन्त्र नराखिएकाले नीतिगत भ्रष्टाचार रोकिनेमा उनले आशंका व्यक्त गरे। 'आफ्नै मान्छे टिको लगाएर अख्तियार लगायतका निकायमा राख्छौं अनि हामीले नै नियुक्ति गरेका मान्छेले के कारबाही गर्छन', उनले भने, 'मुलुकमा व्याप्त भ्रष्टाचार नरोकेसम्म जनताले विश्वास गर्दैनन्।' चाकडीको आधारमा बनेको हाम्रो ब्युरोक्रेसी नभत्किएसम्म विकासमा प्रभाव पर्छ। एउटा फाइललाई ६ ठाउँमा साइन गराउँदै डुलाउने व्युरोक्रेसीले विकास नहुने उनको भनाई छ।

बजेट भनेको आय व्ययको हिसाव किताव मात्र नभएको उनले बताए। यो सामाजिक र राजनीतिक विषय पनि भएको बताउको भनाई छ।

नराम्राहरुका बीचमा यो बजेट राम्रो भए पनि पुराना बजेटसँग तुलना गरेर सन्तोष लिन नहुने उनले बताए। अहिले देशको आवश्यकता भनेको कछुवाको गतीमा होइन वायुपंखी घोडाको रुपमा अर्थतन्त्रलाई कुदाउनु भएको उनले बताए।

सन् २०२२ सम्म अल्पविकसित देशबाट विकासशिल मा पुग्ने, सन् ३० सम्म मध्यम आय भएको स्थानमा पुग्ने र सन् ४० सम्म विकसित अवस्थामा पुग्ने भन्ने हाम्रो साझा लक्ष्य भएको बताउँदै तर  पुग्न हामीले के के गर्यौं भन्दै प्रश्न गरे।

यो लक्ष्यमा पुग्नको लागि के के गर्ने भन्ने विषयमा गत वर्ष भन्दा पनि बजेट अलिकति पछाडि फर्केर बएको भट्टराईले आरोप लगाए। बजेटमा अर्थमन्त्री गतिहिन ढंगले उभिएको आफुले देखेको बताए। अर्थतन्त्रको विषय एउटा पार्टीको वा व्यक्तिको कुरा नभएर समग्र देशको कुरा भएको बताए। पञ्चायतकालदेखि अहिलेसम्म आइपुग्दा बजेटमा आय र व्ययको संरचनामा खासै फरक नभएको भन्दै उनले बजेटमा क्रम भंग गर्ने ढंगले यसको सुरुवात गर्न सक्नु पर्थ्यो त्यो हुन नसक्नु दुखद भएको बताए।

 

प्रकाशित: ६ असार २०७६ ०६:३५ शुक्रबार

कर्मचारी बजेट बाबुराम_भट्टराई