राजनीति

प्रधानमन्त्री स्वेच्छाचारी बाटोमा: गच्छदार

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधानविरोधी सबै विधेयक फिर्ता लिन माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकार स्वेच्छाचारी बाटोमा अघि बढेको आरोप लगाएका हुन्। संसद्भित्र प्रतिपक्षीको अग्राधिकार हुने दाबी गर्दै उनले भने, ‘कस्तो अधिकार प्रधानमन्त्रीज्यूलाई चाहिएको हो ? के अधिकार चाहिएको हो सभामुख महोदय ?’

प्रधानमन्त्रीले विपक्षीको सरोकार सुनेर जबाफ दिनुपर्ने तर्क गर्दै उनले गुठी विधेयकमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने धारणा राखे। विधेयक ल्याउनुअघि सरकारले त्यस विषयमा गृहकार्य गर्नुपर्ने धारणा राख्दै उनले भने, ‘गुठी विधेयक ल्याएर मनोमानी ढंगले अनि फिर्ता गरियो। ल्याउनु र फिर्ता गर्नु बहादुरी होइन। सरकारको कार्यकारी प्रमुखको नाताले गल्ती र संविधानविरोधी विधेयक ल्याएर प्रधानमन्त्रीले गल्ती गर्नुभएको छ।’

प्रधानमन्त्रीले संविधानलाई स्वेच्छाचारी ढंगले प्रयोग गर्न खोजेको आरोप लगाउँदै उनले भने, ‘नेपालको संविधान साझा दस्ताबेज हो। संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो साझा प्रतिबद्धता हो। यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने अधिकार कसैलाई दिएको छैन।’

प्रकाशित: ६ असार २०७६ ०२:२१ शुक्रबार

संविधान विजयकुमार_गच्छदार नेपाली_कांग्रेस